Aamsanchar

कोरोना संक्रमितको मृत्यु भएपछि चिकित्सकमाथि आक्रमण

Author Image
शुक्रवार, जेठ १४, २०७८

काठमाडौं –बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाले बताए । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो । स्वास्थ्यमा सुधार आउन सकिरहेको थिएन,’ डा. थापाले भने, ‘चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव प्रयास गरिरहेका थिए । अन्ततः उनको मृत्यु हुन गयो ।’

उनको मृत्यु पछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको उनले बताए । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटिलखेटी आक्रमण गरेको थापाको भनाइ छ ।

उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा .थापाको भनाइ छ । उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी अठ्याउने, लात हान्ने लगायतका अमानवीय व्यवहार प्रदर्शन गरेको थापाले बताए । चिकित्सकमाथि आक्रमण भएसँगै अहिले अस्पतालका वातावरण त्रसित रहेको उनले बताए ।

‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् । सबैको अवस्था क्रिटिकल छ,’ उनले भने, ‘चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन् । रातिको १२ बज्दा समेत चिकित्सकहरु बिरामीको उपचारमा जान सक्ने सहज वातावरण छैन ।’

चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भएपनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । थापाका अनुसार ज्यानको बाजी लगाएर, पानी समेत नखाइ बिरामीको सेवामा निरन्तर खटिँदा समेत आफूहरुमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरुले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काममा नखटिने बताएका छन् ।

सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडा भन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ । चिकित्सकमाथि आक्रमण भएपछि अहिले अस्पताल प्रशासन, नेपाल मेडिकल एसोसिएसन लगायतको सहभागितामा आकस्मिक बैठक बसिरहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर