पर्वत :आवश्यकता अनुसार अक्सिजनको मात्रा आपूर्ति हुन नसकेपछि गण्डकीको कोभिड–१९ संक्रमितहरुको उपचारको लागि प्रदेशकै सबैभन्दा ठुलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सात जनाको मृत्यु भएको छ। गण्डकी प्रदेशमा आवश्यकता अनुसार अक्सिजनको मात्रा उपलब्ध रहेको भनी स्वास्थ्य निर्देशनालयले तथ्याङ्क सार्वजनिक गरेको भए पनि बिहीबार साँझदेखि सात जना सङ्क्रमितको मृत्यु भएको हो। अस्पतालमा हाई फ्लोको अक्सिजन आवश्यक रहेको भए पनि आवश्यकता अनुसार अक्सिजन उपलब्ध हुन नसक्दा एकै रातमा उनीहरूको मृत्यु भएको हो।
मृत्यु भएकामध्ये एक जना गत शनिवार मात्रै शल्यक्रिया मार्फत बच्चा जन्माएकी एक जना सुत्केरी समेत रहेकी छिन्। मृत्यु हुने अन्यमा तनहुँकै थप दुई जना तथा कास्की स्याङ्जा, पर्वत र म्याग्दीका १÷१ जना रहेका छन्। उनीहरूमध्ये एक जनाको मिर्गौलाको डायलासिस भइरहेको, एक जना कलेजोमा समस्या आएका र एक जना मधुमेहको जटिल अवस्थामा उपचार भइरहेका बिरामी रहेको र अन्य सङ्क्रमित भने सामान्य स्वास्थ्य समस्या रहेकाहरू भएको अस्पतालले बताएको छ।
अस्पतालको कोभिड वार्डका फोकल पर्सन डा शरदचन्द्र बरालले भने अक्सिजनको अभावमा मात्रै उनीहरूको निधन भएको भन्न नसकिने बताएका छन्। कतिपय सङ्क्रमितका आफन्तहरूले अक्सिजनको व्यवस्थापन गरेपछि उनीहरूलाई अक्सिजन दिँदा समेत मृत्यु भएको उनको भनाइ छ।
बिरामीका आफन्तहरूले भने अस्पतालमा साँझबाट नै अक्सिजनको अभाव हुँदै गएपछि सङ्क्रमितहरूले अक्सिजन पाउने अवस्था नरहेपछि उनीहरूको मृत्यु भएको बताएका छन्। अक्सिजन नभई नहुने अवस्थामा रहेका बिरामीहरूको अक्सिजनकै अभावमा मृत्यु भएको सङ्क्रमितका आफन्त बताउँछन्। बिहीबार साँझबाट बिरामीका आफन्तहरूले अक्सिजनको खोजीमा भौँतारिएको बुझिएको छ। उनीहरूले पोखरामा रहेको चिनजानका कतिपय पत्रकारहरूलाई फोन गरेर अक्सिजनको व्यवस्थापन गरिदिन अनुरोध समेत गरेका थिए।
उता बिहीबार दिउँसो विद्युत् आपूर्ति बन्द भएको भन्दै उद्योगले अक्सिजन दिन बन्द गरेका थिए। तर नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले भने बिहीबार १४ मिनेटका लागि मात्रै बिजुली अवरुद्ध भएको बताएको छ।
चिकित्सकका अनुसार हाइ फ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई ५ मिनेट मात्रै अक्सिजनको परिमाण कम भएमा त्यस्ता बिरामीहरूको स्वास्थ्य गम्भीर बन्छ। तर अस्पतालमा बिहीबार साँझबाट शुक्रवार बिहानसम्म नै अक्सिजनको अभाव रहेको छ।
गण्डकी प्रदेशकै सबैभन्दा ठुलो सरकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छैन। अस्पतालले पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खपत गर्छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यस अस्पताललाई सरकारले कोरोना विशेष अस्पताल तोकेको छ। अस्पतालमा अहिले दैनिक तीन सय ७० सिलिन्डर अक्सिजन आवश्यक छ।
अस्पतालमा हाल ७० जना कोरोना सङ्क्रमितले उपचार गरिरहेका छन्। अस्पतालले तीन दिनदेखि ओपिडी बन्द गर्दै सबै बेडमा कोरोना सङ्क्रमितको उपचार गर्ने सूचना जारी गरिसकेको थियो। अस्पतालमा कुल ३ सय ५० बेड छन्।