काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट सकारात्मक खालको आएको बताएका छन् । बजेटले निजी क्षेत्रले उठाएका धेरै माग सम्बोधन गरेको उनले बताए । “जुन हिसाबले हाम्रो माग सम्बोधन भएको छ, त्यो सकारात्मक छ,” उनले भने । उनका अनुसार कर्पोरेट ट्याक्स घटाइनु सकारात्मक छ । यसले सकारात्मक म्यासेज जाने उनको भनाइ छ । हिलिङ चार्जको विषय पनि सकारात्मक रहेको उनले बताए ।
“उद्योगले आफ्नो खपतको लागि आधुनिक ऊर्जा उत्पादन तथा प्रसारण गर्न हिलिङ चार्ज लिए अनुमति दिने व्यवस्था मिलाइनेछ,” बजेटमा भनिएको छ । यो व्यवस्था सकारात्मक रहेको उनले बताए । यस्तै, विद्युतको खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्ने माग गरेको र त्यसको पनि सम्बोधन भएको उनले बताए । “त्यसका लागि विद्युतीय गाडी र विद्युतीय उपकरणको आयातमा भन्सार घट्नुपर्छ भनेको थियौँ, त्यसको पनि सम्बोधन भएको छ,” उनले भने ।
यस्तै, स्टार्टअपलाई प्रवर्द्धन गर्न ‘च्यालेन्स फन्ड’को व्यवस्थाका लागि माग गरेको र त्यो विषय पनि बजेटबाट सम्बोधन गरिएको उनले बताए । “परियोजनालाई नै धितो राखेर कर्जा लिन सक्ने व्यवस्था पनि सकारात्मक छ । बजेट सरसर्ती सुन्दा धेरै माग पूरा भएको जस्तो लाग्छ,” उनले भने ।