जनकपुरधाम- महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् ।
घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार शनिबार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु-भाइलाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । त्यहाँँ प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउनेबित्तिकै मृत्यु भएको विष्टले बताए।
दुबै दाजु-भाइ खेल्दाखेल्दै खाल्डोसम्म पुगेर डुबेको स्थानीयले बताएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।