

झापा- एमाले बिर्तामोड नगर कमिटीले खरिद गरेको ५० थान अक्सिजन सिलिण्डर बिर्तामोड नगर अस्पताललाई हस्तान्तरण गरिएको छ । आज विहान एक कार्यक्रमको आयोजना गरि उक्त सिलिण्डर हस्तानतरण गरिएको हो ।नेकपा एमाले प्रदेश १ का अध्यक्ष देवराव घिमिरेले सो सिलिण्डर बिर्तामोडका मेयर ध्रुब शिवाकोटी र उपमेयर पवित्रा महतरा प्रसाईलाई हस्तान्तरण गरेका छन् । नेकपा एमाले बिर्तामोडका सचिव सुवास भट्टराईले अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको बताए । मंगलवार साँझ एभरेष्ट ग्यास उद्योग काठमाडौंबाट झापा ल्याइएको सिलिण्डर औपचारिक रुपमा हस्तान्तरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश अध्यक्ष घिमिरेले महामारीमा पार्टीले गरेको कामको प्रशंसा गरेका छन् । उनले यस्तो समयमा सानो सहयोग पनि कोभिड संक्रमितका लागि महत्वपूर्ण हुने बताए । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा अक्सिजन सहितको सिलिण्डरको अभाव भएपछि नगर कमिटिले सहयोग संकलन अभियान नै चलाएर १५ लाख रकम संकलन गरेको थियो ।
सोही रकमबाट ५० सिलिण्डर खरिद गरेको र बाँकी ६ लाख ५० हजार बचत रहेको नगर कमिटीका सचिव भट्टराईले जानकारी दिए । उनका अनुसार प्रतिसिलिण्डर १६ हजारका दरले असिक्जन सिलिण्डर खरिद गरिएको छ । उनले एकजना दाताले एक सिलिण्डर बराबरको नगद सहयोग गरेको बताए । बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना संक्रमणलाई दृष्टिगत गरी मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएकोे छ ।



