Aamsanchar

मेची अस्पतालमा अक्सिजन प्लान्ट तुरुन्त जडान गर्न काँग्रेसको माग

Author Image
आइतवार, जेठ ३०, २०७८

झापा – भद्रपुरस्थित मेची अस्पतालमा अक्सिजन प्लान्ट तुरुन्त जडान गर्न नेपाली काँग्रेसले माग गरेका छन् । नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय समिति र भद्रपुर नगर समितिका पदाधिकारीसहितको टोलीले आइतबार बिहान अस्पताल प्रशासन पक्षलाई अक्सिजन प्लान्ट जडानसहित आठ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका हुन् । सो मागसहितको ज्ञापन पत्र नेपाली काँग्रेस ३ नम्बर क्षेत्रीय समितिका सभापति गणेश पोखरेल, नगर सभापति मोहन महर्जन, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की र ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज) सहितको टोलीले नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट टङ्कप्रसाद बाह्रकोटीलाई बुझाएका थिए ।

ज्ञापन पत्रमा भनिएको छ, पूर्वी क्षेत्रका विपन्न परिवार लगायत यस भेगका ठुलो जनसङ्ख्याको प्रमुख स्वास्थ्य संस्थाको रुपमा परिचित एक मात्र सरकारी मेची अस्पतालको समग्र विकाससहित गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहका लागि अस्पताललाई नेपाली काँग्रेस पार्टीले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै आएको छ । सोही अनुरूप अहिलेको कोभिड १९ महामारीले निम्ताइएको विषम परिस्थितमा मेची अस्पतालमा अक्सिजन प्लान्टको आवश्यकता देखिएको छ ।
पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल चिकित्सक सङ्घ समक्ष पहल गर्नु भएको र त्यसको परिणाम स्वरूप चिकित्सक सङ्घले मेची अस्पताललाई निःशुल्क रुपमा अक्सिजन प्लान्ट सहयोग गर्ने निश्चित गरेको छ ।

यसका लागि नेपाल चिकित्सक सङ्घ र नेता सिटौलाज्यू प्रति पार्टीको तर्फबाट कृतज्ञ हुँदै अस्पतालमा उक्त अक्सिजन प्लान्ट तुरुन्त जडान गर्ने व्यवस्था मिलाउन अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराइएको ज्ञापन पत्रमा उल्लेख छ । त्यस्तै अस्पतालमा हुँदै आएको पीसीआर परीक्षण अत्यन्त अव्यवस्थित रही परीक्षणको दौरानमा नै संक्रमण सर्ने जोखिम उच्च रहेको तथ्यलाई गम्भीरतापूर्वक हृदयङ्गम गर्दै परीक्षणलाई जोखिम रहित बनाउने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन, कोभिड तथा नन कोभिड बिरामीहरूलाई प्रदान गरिने खाना, खाजा लगायतको पौष्टिक आहारको स्तर वृद्धिका निम्ति आवश्यक बजेटको व्यवस्थापन, कोभिड भवन लगायत समग्र अस्पताल एवं अस्पताल हातामा नियमित रुपमा सरसफाइको प्रबन्ध मिलाउन, अस्पतालमा गुणस्तरीय एम.आर.आई., सी.टी. स्क्यान जस्ता स्वास्थ्य उपकरणहरूको व्यवस्था गर्न तथा भेन्टिलेटर एवं आई.सी.यु.सेवाको विस्तारको सुनिश्चितताको निम्ति अग्रसर हुन, अस्पतालमा मुटु रोगको स्तरीय उपचारको प्रबन्ध मिलाउन, विना प्रतिस्पर्धा अपारदर्शी रुपमा अस्पतालको डाइलासिस सेवा ठेक्का दिएकोमा उक्त सेवाको ठेक्का पारदर्शी र विधिसम्मत रुपमा दिने व्यवस्था मिलाउन र यस अघिकै सरकारले मेची अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति गर्ने सम्बन्धमा प्रक्रिया सुरु गरेकोमा हाल उक्त प्रक्रिया अवरुद्ध भएको छ । यस अस्पताललाई मेडिकल कलेजको रुपमा स्तरोन्नति गर्ने दिशामा अस्पताल प्रमुखको हैसियतमा तपाईँको तहबाट आवश्यक क्रियाशीलता देखाउन अनुरोध गरिएको ज्ञापन पत्रमा भनिएको छ ।
साथै नेपाली काँग्रेस क्षेत्रीय र नगर समितिले नवनियुक्त मेसु डा.बाह्रकोटीलाई बधाईसहित सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको क्षेत्रीय सभापति पोखरेलले बताए ।

Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर