Aamsanchar

दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

Author Image
सोमवार, जेठ ३१, २०७८

झापा – दमकमा कोरोनाको दोस्रो भेरियन्ट यता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ। दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार १३७ जना सङ्क्रमण मुक्त भइसकेका पनि स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए। दमकमा पीसीआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म कूल एक हजार ५१२ जनामा कोरोनाको दोस्रो भेरियन्ट पुष्टि भइसकेको छ। तीमध्ये महिलाको सङ्ख्या ७३२ छ।

दमकमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५२ रहेको र होम आइसोलेशनमा रहेकाको सङ्ख्या ३४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ। नगरपालिकाले हालसम्म एक हजार १४६ जनाको निःशुल्क पीसीआर परीक्षण गरेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतबारसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४६४ रहेको छ।

जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या १२ हजार २४२ पुगेको छ। कोरोना सङ्क्रमणबाट जिल्लाको दमकसहित बिर्तामोड, भद्रपुर र मेचीनगर बढी प्रभावित भएको पाइएको छ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर