Aamsanchar

केन्द्र र प्रदेशले सहयोग नगरेको भन्दै विराटनगरले कोरोना खोपका लागि अन्तर्राष्ट्रिय दाता गुहार्‍यो

Author Image
आइतवार, असार ६, २०७८

विराटनगर – केन्द्र र प्रदेश सरकारले सहयोग नगरेको भन्दै विराटनगर महानगरपालिकाले कोरोनाविरुद्धको खोपका लागि अन्तर्राष्ट्रिय दाता गुहारेको छ। अहिलेको अवस्थामा खोप एक मात्र विकल्प भएको र खोप अभावका कारण कोरोना नियन्त्रण गर्न नसकिएको भन्दै महानगरपालिकाले गैरसरकारी संस्था तथा दाताहरुसँग गुहार मागेको हो।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विज्ञप्ति जारी गर्दै यसअघि महानगरलाई सहयोग गरिरहेका दाता, भगिनी सम्बन्ध भएका शहर तथा विदेशी नियोगहरुलाई खोप उपलब्ध गराइदिन अनुरोध गरेका छन्।

भगिनी सम्बन्ध कायम भएका चीनका उहान र उहुँ शहर, अमेरिकी सहयोगी संस्था युएसआइडी, जापानको जाइका तथा सिटिनेट डिआरआरलाई खोप उपलब्ध गराउन अनुरोध गरेका छन्। त्यस्तै, बेलायतको डिएआइडी, स्विजरल्यान्डको हेल्विटास, कोरियाको काइका र सिटिनेट सचिवालय सियोल भारत जर्मनीलगायतका देशहरुका दूतावासमार्फत खोप सहयोग गर्न आग्रह गरिएको छ।

सबै संस्था तथा निकायहरुलाई पत्राचार गरेर खोप उपलब्धताका लागि आग्रह गरिएको महानगरप्रमुख पराजुलीलले बताए। उनले यसअघि पनि आवश्यक पर्दा सहयोग गरेकाले अहिले आग्रह गरिएको खोपका लागि पनि दाताहरुले सहयोग गर्ने अपेक्षा रहेको बताए। आग्रह गरिएका दाताहरुले सहयोग दिने भए संघीय सरकारसँग समन्वय गरी ल्याउने बताए। दाताहरूलाई भ्याक्सिनका साथै स्वास्थ्य सामग्री अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर भिटिएम, एन्टिजेन किटलगायत सामग्री सहयोगका लागि आग्रह गरिएको छ।

महानगरप्रमुख पराजुलीले महामारीको यस्तो अवस्थामा केन्द्र र प्रदेश सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा त्यो भूमिका निर्वाह गर्न नसेकेको र स्थानीय तहलाई पनि आवश्यक सहयोग नगरेको आरोप लगाएका छन्।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर