Aamsanchar

ताप्लेजुङका युवाको कफी खेतीमा आकर्षण

Author Image
सोमवार, असार ७, २०७८

ताप्लेजुङ – ताप्लेजुङमा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर आकर्षण बढ्दै गएको छ। कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले बिस्तारै यसको खेतीतिर आकर्षण बढ्दै गएको हो। बजार माग बढ्दै गएसँगै यसबाट राम्रो आम्दानीको सम्भावना देखेपछि किसानले व्यावसायिकरूपमै खेती सुरु गरेका हुन्। आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङ र वडा नम्बर ५ चाँगे तथा मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका किसानले व्यावसायिकरूपमा कफी खेती सुरु गरेका छन्।

सुरुमा परीक्षण गर्दा नै कफी राम्ररी फस्टाएको र कफीका लागि उपयुक्त हावापानी र जमीन रहेको पाइएपछि स्थानीय किसानले व्यावसायिक खेती सुरु गरेको किसानहरु बताउँछन्। अहिले धमाधम कफी खेती विस्तार हुन थालेको छ।

ढुङ्गेसाँघुका किसान चन्द्र तामाङले हाल व्यावसायिक कफी खेती सुरु गरेका छन्। चार वर्ष अघिदेखि कफीको बिरुवा रोप्न सुरु गरेर अहिलेसम्म करिब ४० रोपनी क्षेत्रफलमा खेती विस्तार गरेको तामाङले बताए। उक्त क्षेत्रफलमा एकहजार ५०० बिरुवा रोपेको र सुरुसुरुमा रोपेको बोटमा फल लाग्न थालेको उनले बताए। उनले यसवर्ष चारहजार किलोग्रामसम्म कफी उत्पादन हुने बताए।

ढुङ्गेसाँघुकै अर्का किसान ध्रुव वनेमले पनि कफीको व्यावसायिक खेती सुरु गरेका छन्। वनेमले १५० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब दुई हजार ५०० बिरुवा लगाएका छन्। उनको खेतीबाट पनि उत्पादन हुन थालेको र दुई हजार ५०० किलोग्रामसम्म उत्पादन हुने अनुमान लगाएको उनले बताए। तामाङ र वनेमसहित ढुङ्गेसाँघुका ६ जना किसानले व्यावसायिक कफी खेती सुरु गरेका छन्।

यस्तै, आठराई त्रिवेणी–३ हाङ्पाङका किसान लक्ष्मीप्रसाद पोखरेलले पनि आफूले लगाएको कफी खेतीबाट उत्पादन हुन थालेको बताए। वडा नम्बर ५ चाँगेका स्थानीय किसान घनु गौतमले पनि व्यावसायिक कफी खेती लगाएका छन्। यसरी हाङ्पाङ र चाँगेमा दर्जनौँ किसानले व्यावसायिकरूपमा कफी खेती सुरु गरेका छन्।

कफी खेतीबाट आम्दानी पनि हुन थालेको किसानले बताएका छन्। उत्पादित कफी अहिले प्रतिकिलो ८० रुपैयाँले बिक्री गर्दै आएको किसानको भनाइ छ। प्रशोधन गरेको कफी भने प्रतिकिलो ७०० रुपैयाँका दरले बिक्री हुने हुँदा किसान आफैँले गाउँमै कफी प्रशोधन गर्ने व्यवस्थाका लागि जुट्दै छन्। हाल व्यावसायिक खेती सुरु भएको क्षेत्र ढुङ्गेसाँघु, चाँगे र हाङ्पाङबाट करिब १० हजार किलोग्रामसम्म कफी उत्पादन हुन थालेको ढुङ्गेसाँघुका किसान तामाङले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर