Aamsanchar

साउनदेखि त्रिविको स्थगित परीक्षा सञ्चालन हुने

Author Image
बुधवार, असार ९, २०७८

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ। स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ। कोरोना महामारीका कारण परीक्षा स्थगित भएपछि त्रिविमा अहिले स्नातक तह प्रथम वर्षमा दुईवटा समूह छन् । स्नातक तहका यी विद्यार्थी एउटै तहमा अध्ययन गरेको २० महिना भइसकेको छ।

वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय त्रिविले गरेको छ । धेरै विद्यार्थी भएका कारण अनलाइन या अन्य माध्यमबाट परीक्षा लिन सम्भव नभएपछि पुरानै मोडलमा परीक्षा लिन लागिएको हो। विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने निर्णय भएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए। विशेष अवस्था भएका कारण विश्वविद्यालयले परीक्षा केन्द्र रोज्ने अवसर दिएको हो। सामान्य अवस्थामा परीक्षा केन्द्र सार्न विश्वविद्यालयले बन्देज गरेको छ । यसका लागि परीक्षा केन्द्र थप गर्नुपर्ने अवस्था आउने जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर