

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ । अब अदालतले संसद पुनस्र्थापना गर्न सक्ने पनि प्रधानमन्त्रीले विश्लेषण गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् मंगलबार २० जना मन्त्रीको नियुक्ति बदर गरेपछि प्रधानमन्त्री ओली सर्वोच्च अदालतप्रति आक्रोशित बनेका हुन् ।मंगलबार राति बालुवाटारमा पदमुक्त मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले भने, ‘संविधानअनुसार २५ जनाको मन्त्रिपरिषद हुँदा त काम गर्न हम्मे परिरहेको थियो, अब चारजना मन्त्रीले कसरी सरकार चलाउनु ? ’

आफूले मधेसका नेताहरुलाई समेटेर संविधानअनुसार नै सरकार विस्तार गर्दा अदालतले रोक लगाइदिएको ओलीले गुनासो गरे । उनले पदमुक्त मन्त्रीहरुलाई भने, ‘अब अदालतको आदेश मान्दिनँ पनि कसरी भन्नु ? तपाईहरुले मलाई सहयोग गर्नुभयो, अब संसद पुनःस्थापना होलाजस्तो देखिँदैछ, त्यसपछिको परिस्थिति कसरी अगाडि बढ्छ, हेरौं ।’

प्रधानमन्त्री ओलीले अदालतबाट पदमुक्त भएका सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए । सिन्धुपाल्चोकबाट आजै फर्केका निवर्तमान उपप्रधानमन्त्री राजेन्द्र महतो पनि बालुवाटार पुगेका थिए ।पदमुक्त मन्त्रीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट नागरिकतासम्बन्धी अध्यादेश खारेज गरिदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे । संविधानमा भएको व्यवस्थालाई नै अध्यादेशमा राख्दा पनि अदालतले दुःख दिएको उनले बताए । ‘प्रधानमन्त्री ओली निराश र अन्योलमा देखिनुभएको थियो’ बालुवाटारबाट फर्केका एक निवर्तमान मन्त्रीले भने । उनका अनुसार अब संसद पुनस्र्थापना हुने र त्यसपछिको राजनीतिक समीकरणअनुसार एमाले–जसपाको सरकार बन्ने अवस्था पनि नरहन सक्ने प्रधानमन्त्री ओली र जसपाका नेताहरुले विश्लेषण गरेका छन् ।

बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीको भनाइ थियो, संसद पुनःस्थापना भयो भने देश कसरी अगाडि बढ्छ हेरौं, भएन भने पनि ५ जना मन्त्रीबाट चल्न गाह्रो छ ।’प्रधानमन्त्री ओलीले संसद विघटन गरिसकेर पनि जसपाका ११ नेतालाई मन्त्री बनाएका थिए । एमालेबाट पुरानो टीम बदलेर ९ जना थप गरेका थिए । अदालतको आदेशपछि जसपाका ११ जनासँगै एमालेका नयाँ मन्त्रीहरु पनि पदच्युत भएपछि ओली संकटमा परेका छन् ।
सत्तारुढ एमालेका कतिपय नेताहरुले अदालतले ओलीलाई ‘कामचलाउ प्रधानमन्त्री’ करार गरेको हुनाले अब संसद विघटन सदर हुने र निर्वाचन हुने अनुमान लगाएका छन् । तर, मंगलबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीको विश्लेषण चाहिँ त्यो भन्दा विपरीत आएको जसपाका एक नेताले बताए ।
उनले भने, ’अदालतको आदेशले संसद पुनःस्थापना हुने संकेत गरेको प्रधानमन्त्री ओलीको विश्लेषण छ । पुनःस्थापना भएन भने ५ जना मन्त्रीले चुनाव गराउन नसक्ने निश्कर्ष पनि प्रधानमन्त्रीमा देखियो ।’

