Aamsanchar

भद्रपुर नगरपालिकाले वृद्धि गरेको तलबमा शिक्षक महासङ्घको आपत्ति

Author Image
बिहिवार, असार १०, २०७८

झापा-सरकारले बजेटमार्फत घोषणा गरे अनुसारको तलब वृद्धि नगरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले आपत्ति जनाएको छ । असार ८ र ९ गते सम्पन्न भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८ ०७९ को बजेट, नीति तथा कार्यक्रममा प्रारम्भिक बाल विकास केन्द्रका शिक्षक र कर्मचारीको तलब १५ हजार नपुर्‍याएको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरले बिहीबार एक विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो ।

सरकारले तोकेको मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउन भन्दै नेपाल शिक्षक महासंघ, बाल शिक्षक र विद्यालय कर्मचारी परिषद् नगर समितिले गत जेठ २७ गते नगरपालिकाकालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो । तर, नगरपालिकाले नगर सभाबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रममा बाल शिक्षकको तलब ३ हजार र कर्मचारीको तलबका २ हजार बढाउने उल्लेख गरेको छ ।

सरकारको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री विष्णु पौडेलले बाल शिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याएको र सम्बन्धित पालिकाले सात हजार थप गरेर न्यूनतम मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था लागु गरेको थियो ।

नगरपालिकाले सात हजार बढाउनुको साटो ३ हजार र २ हजार तलब बढाएको नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक सङ्घ भद्रपुरको आपत्ति रहेको नेपाल शिक्षक महासंघ नगर समितिका अध्यक्ष गणेश गिरीले बताए । नगरपालिकाले वृद्धि गरेको तलबलाई पुनर्विचार गरी सरकारले बजेटमार्फत घोषणा गरेको तलब कार्यान्वयन ल्याउन सङ्घको माग रहेको उनको भनाई छ । नगर सभामा ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की लगायतका केही जनप्रतिनिधिले पनि बाल शिक्षक र कर्मचारीको तलब सरकारले तोके अनुसारको दिनुपर्ने आवाज समेत उठाएका थिए । वडा अध्यक्ष सुब्बाका अनुसार सरकारले तोके अनुसारको तलब वृद्धि गर्नुपर्ने आवाज नगर सभामा उठाएको हो । त्यति मात्र नभएर नगरपालिकाले सरकारसँग कोरोना खोप पनि माग्नु पर्ने आवाज पनि उठाएका थियौँ, उनले भने, तर नगरपालिकाले हाम्रो मागलाई सम्बोधन नगरी नीति तथा कार्यक्रम पारित गर्‍यो ।

नगरभित्र ५७ जना बाल शिक्षक, मावि स्तरका कर्मचारी १६ जना, आधारभूत स्तरका कर्मचारी १६ जना र प्रावि स्तरका कर्मचारी १५ जना रहेका छन् । नगरपालिकाले अहिले बाल शिक्षकलाई मासिक ७ हजार ५ सय, मावि स्तरका कर्मचारीलाई ११ हजार ५ सय, आधारभूत स्तरका कर्मचारीलाई ७ हजार ५ सय र प्रावि स्तरका कर्मचारीलाई ४ हजार ५ सय मासिक तलब दिँदै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर