Aamsanchar

मेची भन्सारले असार १२ मै भेट्टायो लक्ष्य, व्यापार घाटा भने स्थिर

Author Image
आइतवार, असार १३, २०७८

काँकरभिट्टा। पूर्वीनाकाबाट पेट्रोलियम पदार्थको आयात बढेसँगै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व असुलीमा उल्लेखिय प्रगति भएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक राजस्वको लक्ष्य असार १२ गते नै पुरा गरेको प्रमुख भन्सार आधिकृत ध्रुवराज विश्वकर्माको भनाई छ ।

प्रमुख भन्सार आधिकृत विश्वकर्माका अनुसार कार्यालयलाई भन्सार विभागले चालु आर्थिक वर्ष २०७७/२०७८ मा १२ अर्व ९ करोडको वार्षिक लक्ष्य दिईएको भएपनि असार १२ गतेसम्म १२ अर्ब १३ करोड रुपैयाँ राजस्व असुली गरेको छ । असारमहिनाको मासीक लक्ष्य ९९ करोड ७७ लाख भए पनि १२ दिनमा ३९ करोड बढी रुपैयाँ राजस्व संकलन गरिसकेको छ । यसको अनुपातमा चालु आर्थिक वर्ष २०७७/२०७८ मा १२ अर्व ७४ करोड रुपैयाँ वा १ सय दशमलव ५ प्रतिशत वा वार्षिक लक्ष्यको तुलनामा ५ प्रतिशत बढी राजस्व असुली हुने अनुमान कार्यालयले गरेको प्रमुख भन्सार आधिकृत विश्वकर्माले बताउनुभयो ।

आर्थिक वर्ष २०७४/२०७५ मा भन्सार कार्यालयले ९ अर्ब २० करोड ९१ लाख ४१ रुपैयाँ वार्षिक लक्ष्य पाएको भएपनि ९ अर्ब ७४ करोड ३ लाख ६१ हजार रुपैयाँ वा लक्ष्यको तुलनामा ३ दशमलव ६९ प्रतिशतले राजस्व बृद्धि गरेको थियो । आर्थिक वर्ष २०७४/२०७५ मा लक्ष्यको तुलनामा ३ दशमलव ६९ प्रतिशतले राजस्व बृद्धि गरेको मेची भन्सार कार्यालय काँकरभिट्टा आर्थिक वर्ष २०७५/२०७६ मा १५ प्रतिशत कम राजस्व असुली गरेको थियो ।

विशेषगरी काँकरभिट्टा नाका भएर पेट्रोलियम पदार्थको आयात बढेसँगै कार्यालयले वार्षिक लक्ष्य सजिलै पुरा गरेको उहाँको भनाई छ । पेट्रोलियम पदार्थले कुल राजस्वको ४५ प्रतिशत राजस्व ओगटेको छ । चालु आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि जेठमहिनासम्म पेट्रोलियम पदार्थबाट मात्रै २ अर्व ५८ करोड ५७ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । गतवर्ष २०७६/ २०७७ मा पेट्रोलियम पदार्थबाट २ अर्ब ७१ करोड ८८ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । गतवर्ष २०७६÷ २०७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/२०७८ मा पेट्रोलियम पदार्थबाट असुली हुने राजस्व १ अर्ब ८६ करोड रुपैयाँले बृद्घि भएको प्रमुख भन्सार आधिकृत विश्वकर्माले बताउनुभयो ।

बंगलालेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तु तथा कोइलाले कुल राजस्वको ४५ प्रतिशत र बाँकी १० प्रतिशत अन्यले ओगटेको भन्सार अधिकारीहरु बताउँछन् । कार्यालयका अनुसार कोभिड १९ का कारण बेला बेला नाकाबाट आवतजावतमा समस्या पैदा हुने भएपनि आयात र निर्यात दुवै चालु आर्थिक वर्ष २०७७/२०७८ मा अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा बढेका कारण पूर्वीनाकाबाट हुने व्यापार घाटा समेत स्थिर झै छ । चालु आर्थिक वर्ष २०७७/२०७८ को ११ महिनामा काँकरभिट्टा नाका भएर ३९ अर्व ५७ करोड रुपैयाँ बराबरका मालवस्तु भारतलगायत अन्य मुलुकबाट आयात भएका छन् । जुन रकम अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ को तुलनामा ३ अर्व ९३ करोड रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा ३५ अर्व ६४ करोड रुपैयाँ बराबरका मालवस्तु भारतलगायत अन्य मुलुकबाट आयात भएका थिए । पूर्वीनाका भएर खाना पकाउने ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।

यसैगरी, अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७७/२०७८ मा यो नाका भएर ११ अर्व ३३ करोड रुपैयाँका मालवस्तु निर्यात भएका थिए भने अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा ७ अर्व ३८ करोड रुपैयाँका मालवस्तु निर्यात भएको कार्यालयको तथ्याङ्कमा छ । जुन निर्यात रकम ३ अर्व ९५ करोड रुपैयाँले बढेको हो । मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

गतवर्ष काँकरभिट्टा नाका भएर भारत लगयात अन्य मुलुकसँग हुने व्यापार घाटा २८ अर्व २६ करोड रुपैयाँ थियो भने चालु आर्थिक वर्षमा व्यापार घाटा २८ अर्व २४ करोड रुपैयाँ छ । गतवर्षको तुलनामा यो वर्ष व्यापार घाटा २ करोड रुपैयाँले कमि हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)