

काठमाडौँ। झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको स्थलगत अनुगमन गर्न चिकित्सा शिक्षा आयोगले पठाएको टोलीले प्रतिवेदन नबुझाउने भएको छ । अनुगमन टोलीको छनौट गर्दा आयोग उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले ‘फट्याई’ गरेको भन्दै टोलीले प्रतिवेदन नबुझाउने भएको हो ।

अनुगमन टोलीका संयोजक प्रा.डा. प्रकाशराज पाण्डे र सदस्य रहेका सह प्रा.डा. भोजराज अधिकारीले आयोगलाई लिखित र मौखिक रुपमा प्रतिवेदन बुझाउन नसक्ने जानकारी गराएका छन् ।
गत २२ असारमा बसेको आयोगको कार्यकारी समितिको बैठकमा संयोजक पाण्डेले प्रतिवेदन नबुझाउने भन्दै निस्किएपछि २३ असारमा सदस्य रहेका अधिकारीले पनि लिखित रुपमा आफू अनुगमन टोलीबाट बाहिरिएको र प्रतिवेदन नबुझाउने जानकारी गराएका छन् ।

गत २८ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको सातौं बैठकले बीएण्डसीको पूर्वाधार लगायतको अनुगमन गरी सम्वन्धन दिन योग्य छ कि छैन् ? भन्दै सात दिन भित्र प्रतिवेदन बुझाउने गरी विज्ञ टोली गठन गरी स्थलगत अनुगमनमा पठाउन निर्देशन दिएको थियो । सोही अनुसार आयोगको कार्यकारीले टोली गठन गरेको थियो ।
सो टोली ढिलो गरी झापा त पुग्यो तर प्रतिवेदन दिने बेलामा संयोजक तथा सदस्यले नसक्ने र नमिल्ने भन्दै बाहिरिएको घोषणा गरेको छन् । उनीहरुले आयोग उपाध्यक्ष गिरीले ‘फट्याई’ गरेको आरोप लगाउन थालेका छन् ।



