सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका मुद्दाहरूलाई सम्बोधन गर्ने हेतूले विश्व जनसंख्या दिवस मनाइन्छ । यो हरेक वर्ष जुलाई महिनाको ११ तारिखका दिन मनाइन्छ । रोचक कुरा त के छ भने सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा आयोजित ‘पपुलेशन समिट’ले यो दिवस मनाउने घोषणा गरेको हो ।
कोभिड जित्न समग्र विश्वलाई आह्वान गर्दै सन् २०२१ को यस दिवसमा अनेक कार्यक्रमहरू गरेर मनाँइदैछ । विश्वभरिको जनसंख्यालाई कसरी कोभिड विरुद्धको खोप लगाउने भन्ने चुनौति सबैका सामु छ । त्यो पृष्ठभूमिमा यो वर्ष २०२१ को जनसंख्या दिवसको सबैलाई अर्थपूर्ण छ ।
जनसंख्या वृद्धि वास्तवमा अवसर हो या चुनौति भन्ने विषयमा विवाद शुरु हुन थालेको छ । विक्रम सम्वत् २०५६ सालमा तत्कालीन नेपाल सरकारले विद्यालयमा ल्याएको नयाँ पाठ्यक्रम अनुसार जनसंख्या वृद्धि नराम्रो र यसको नियन्त्रण गर्नुपर्छ भनी हामीमध्ये धेरैलाई पढाइएको पनि छ ।
तर सधैं जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन । विश्वका विकसित भन्दा विकसित मुलुकहरूमा खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक बिन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरू बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागेका कारण यसो भएको हो ।
जनसंख्या थोरै भएमा थोरै श्रोतले पनि गुणस्तरयुक्त जीवन धान्न मिल्ने तथ्य आफ्नो ठाउँमा छ । तथापि विकास अनि समृद्धिका लागि चाहिने जनशक्तिको पूर्णता पनि जनसंख्याले नै गर्ने त हो । अनि सन्तुलित जनसंख्या बेगर कुनै पनि देशको सुरक्षा, विकास दीगो भविष्यको कल्पना पनि गर्न सकिन्न ।
विश्वको शक्तिकेन्द्र तथा विश्वको जनसंख्यामा आफ्नो अधिकतम स्थान राख्ने चीनले बढ्दो जनसंख्याको भय बुझेर ‘एक सन्तान प्रणाली’ लागू गरेको थियो । तर पछिल्लो समय जनसंख्याको निश्चित स्तर हासिल गर्न लामो समयको अध्ययनपश्चात् सन् २०१५ मा दुई सन्तान जन्माउन अनुमति मात्र होइन कि आफ्ना नागरिकलाई आह्वान नै गरेको छ ।
यस्तै संसारमै सबैभन्दा व्यस्त जीवनशैली अपनाएका जापानीहरूलाई व्यक्तिगत तथा पारिवारिक समय निकाल्न तथा बढ्दो वृद्ध–वृद्धाहरूको जनसंख्यासंग तालमेल मिलाउन योजनासहितका सन्तान प्राप्ति अर्थात् बच्चा जन्माउन प्रेरित गरिन्छ । अन्य थुप्रै देशहरूमा जनसंख्याको एउटा निश्चित स्तर तथा सन्तान उत्पादनको निराशाजनक उदाहरणहरू बढ्न थालेका छन् ।
नेपाल, भारत र बङ्गलादेशमा भने ‘पपुलेशन बोनस’ भएको मानिन्छ । यसको अर्थ क्रियाशील जनंसख्या अर्थात् १६ देखि ४९ सम्मका जनसंख्या कूल जनसंख्याको ६० प्रतिशत भन्दा बढी हुनु हो । यी जनस्रोतलाई राम्ररी प्रयोग गर्न सके विकास पर छैन, तर दुर्भाग्य नेपाली जनशक्तिहरूको पसिना स्वदेश भन्दा विदेशमा चुहिरहेको छ । यसमा दोष प्रवासमा रोजगारी खोज्दै जानेहरूको भन्दा पनि जानैपर्ने वाध्यता सिर्जना गर्नेहरूको हो ।
उत्पादनमुखी उद्योग, कलकारखानाहरू विगतका राजनीतिक गतिविधिका कारण बन्द हुनु तथा यसको वृद्धि र विकासमा उद्योगी तथा व्यवसायीहरूसँग तालमेल गरेर रोजगारीका नयाँ सम्भावनामा काम गर्न नसक्नुमा, अनि पटके र यस अघिका अस्थायी सरकारहरू दोषी हुन् भन्नु यसमा दुईमत नहोला । यस्तो अवस्थामा व्यवसायीहरू पनि उत्पादनतर्फ ढुक्क हुन सकेका छैनन्, जसका कारण आयातमुखी कारोवार फस्टाउँदै गएको छ ।
खाडीको मरुभूमिमा हरियाली बनाउन सक्ने नेपाली पसिनाले आफ्नै हरियो देशलाई कहाँबाट कहाँ पुर्याउन सक्छन् होला । तर सम्भावनाका खोजीका शब्दमा मसी चोपिएको कहाँ छ र ?
हाल पनि २ करोड भन्दा धेरै महिलाहरूले गर्भनिरोधक साधनको सुरक्षित प्रयोग नगरेको तथ्यांक पनि छ । यस्ता विषयमा हामी सबै अनि सरोकारवालाहरूको ध्यान आज जाओस् । मानव बस्तीमा थोरै बच्चाहरूको संख्याले समृद्धि जनाउन सक्दैनन् । तर भएका बच्चाहरूको उचित स्याहार, सुसार, आहार अनि स्वास्थ दिन सक्नेगरी परिवारको योजना गर्नु बुद्धिमत्ता हो ।
सन्तानले डाँडाकाँडा ढाकून् भन्ने उक्तिलाई परिमार्जन गर्दै सन्तानको यश र कृतिले डाँडाकाँडा ढाक्न सक्नेगरी शिक्षा–दिक्षा र लालन–पालन गर्न सक्ने गक्ष सबैको होस् ।
बुबा, आमा, दाई, दिदी, बहिनी, भाई, काका, काकी, हजुरबुवा, हजुरआमा लगायत सम्पूर्ण नातागोता अनि साथीभाईहरूमा जनसंख्या दिवसको शुभकामना ।