बिर्तामोड । गत सोमबार झापाको बिर्तामोड –५ मा घरको आँगनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी २५ वर्षीया युवती सिर्जना बस्नेतको मृत्युको कारण के कसरी भयो भन्ने सत्यतथ्य अझै बाहिर आएको छैन । नागरिकहरुले घटनाको बारे सत्यतथ्य जानकारी प्रहरीले सार्वजनिक गर्ने हो की होईन भनेर जिज्ञाषा राखिरहेको अवस्था छ । उता झापा प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको जनाएको छ ।
शवको प्रकृतिलाई हेर्दा हत्याको आशंका गर्न सकिने धेरै आधारहरु देखिए पछि प्रहरीले सोही आधारलाई मानेर अनुसन्धानलाई अघि बढाएको छ । सत्यतथ्य पत्ता लगाउन प्रहरी लागिपरिरहेको अबस्थामा युवतीका आफन्तले ‘आत्महत्या’ गरेको भन्दै दावी गर्दै आएका छन् । बस्नेतको दाहशंस्कारमा आफन्तजनले ‘आत्महत्या’ गरेको भन्दै अन्य मलामीलाई बताएको बुझिएको छ । यद्धपि, अनुसन्धानलाई प्रहरीले मसिनो गरि अघि बढाएको छ ।
झापा प्रहरीका प्रवक्ता राकेश थापाको भनाई अनुसार अनुसन्धानका लागि आवश्यक प्रमाण जुटाउने काम भइरहेको छ । उनले युवतीको मोवाइल फरेन्सिक जाँचको लागि काठमाडौं पठाइएको जानकारी दिएका छन् । पोष्टमार्टमको रिपोट पनि आइसकेको छ ।
आफन्तसँग डेरामा बस्दै आएकी बस्नेतको शव सोही घरमुनी फेला परेको थियो । सबै तलाका ढोकामा चावी लगाइएको अवस्थामा युवतीको शव घर बाहिर भेटिनुले घटना रहस्यमय बनेको आम बुझाई छ ।