

बिर्तामोड । नेपाली युवामाझ लोकप्रिय, मेमोरी किङ्ग भनेर चिनिने अर्पण शर्मा कट्टेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दोस्रो पटक कीर्तिमानी राख्ने तयारी गरेका छन् । उनले दोस्रो पटकको कीर्तिमानी पनि पहिलो कीर्तिमानीजस्तै वस्तुहरुको क्रम संख्या स्मरण गरेर राख्न लागेका हुन्

उनले यसै हप्ताभित्र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा १ मिनेटको समयमा ८३ वटा वस्तुको क्रम संख्या स्मरण गरेर कीर्तिमानी राख्न लागेको बताएका छन् ।

उक्त कीर्तिमानीलाई आधिकारीकता दिन शर्माले गिनिज बुक अफ वर्ल्ड रेडर्कमा पठाउन लागेको आज बिर्तामोडमा अयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए । । ‘मैले १ मिनेटमा ८३ वटा वस्तुको क्रम स्मरण गर्न सफल भएको छु । यो कीर्तिमानीलाई आधिकारीकता दिन यही हप्ताभित्र गिनिज बुकमा पठाउदैछु’ शर्माले भने ।

यसअघि २०७२ सालमा शर्माले १ मिनेटमा ४२ वटा वस्तुको स्मरण गरेर विश्व कीर्तिमान राखेका थिए । तर, पछि उक्त कीर्तिमान भारत हैदरावादका नवल पन्जियारले १ मिनेटमा ५४ वटा वस्तुको क्रम संख्या स्मरण गरेर तोडेका थिए ।
झापा जिल्ला घर भएका अर्पणले एसएस निकेतन ईंग्लिस स्कुलमा एसएलसीसम्मको अध्ययन गरेका थिए। उनी कक्षा १ मा चौथो भएका थिए भने कक्षा ४ सम्म तेस्रो–चौथो नै भए। ५ र ६ कक्षामा दोस्रो भए र त्यसपछि ७ देखि १० कक्षासम्म पहिलो भए। २०६३ सालमा एसएलसी दिएका उनले ७६ प्रतिशत अङ्क ल्याएका थिए। उनले प्लस टु र बिबिएसमा कलेज टप गरेका थिए।

