

झापा — विद्युत् प्राधिकरण वितरण केन्द्र अनारमनीमा कार्यरत बिर्तामोड–४ जात्रुबाडीका ६१ वर्षीय कुलबहादुर भट्टराई बिर्तामोड–८ बाह्रबिघेस्थित स्थानीय रामकुमारी दर्जीको घरमा मिटर जडान गर्न असार २३ गते बिहान घरबाट निस्किएका थिए । उनी बिजुलीको पोलमा चढेका मात्रै के थिए करेन्टको झड्काले हुत्याइदियो । भुइँमा लडेका उनको टाउकोमा गम्भीर चोट लाग्यो । अस्पताल पुर्याइए पनि ज्यान बचेन ।

भट्टराईको मृत्युको दुई दिनपछि बिर्तामोडकै छिमेकी पालिका अर्जुनधारामा करेन्ट लागेरै अर्का एक जनाले पनि ज्यान गुमाए । अर्जुनधारा–६ पूर्वेली टोलमा अमृतकुमार गुरुङको घरको छत ढलानको क्रममा ३८ वर्षीय श्रमिक आयुष राईलाई ढलानको भाइब्रेटर मेसिनको तार फुकाउँदै गर्दा असावधानीले करेन्ट लाग्यो । इलाम सन्दकपुर–२ घर भई बिर्तामोड–१ मा डेरा बस्ने राईलाई उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड पुर्याए पनि ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ । असार ३१ मा मेचीनगर–३ सिर्जना बस्तीका ३१ वर्षीय सरोज किसानको पनि करेन्टबाटै ज्यान गयो । विद्युत्को हाइटेन्सन लाइनमा तार जोडेर उनी स्थानीय गंगटे खोल्सामा माछा मार्दै थिए । त्यही क्रममा उनको ज्यान गएको थियो ।

माथि उल्लेखित घटना असारको अन्तिम साता झापामा करेन्टबाट ज्यान गुमाउनेहरूको हो । झापामा हात्तीलाई थापेको विद्युतीय धरापमा परेर, माछा मार्ने क्रममा र अन्य कारणले करेन्ट लागेर मृत्यु हुने दर उच्च छ । आर्थिक वर्ष २०७७र७८ मा करेन्ट लागेर २१ जनाले अकालमा ज्यान गुमाएका छन् । प्रहरीका अनुसार बिर्तामोड र अर्जुनधारामा ४/४, मेचीनगर, दमक, कमल र कचनकवल गाउँपालिकामा २/२ तथा भद्रपुर, गौरादह, शिवसताक्षी, हल्दिबारी र बुद्धशान्तिमा १/१ जनाले करेन्टबाट ज्यान गुमाएका छन् ।

कतिपय आफ्नै लापरबाहीबाट र केही अञ्जानमा विद्युतीय दुर्घटनामा परेर ज्यान गुमाएको प्रहरीले जनाएको छ । धेरैजसोको ज्यान करेन्ट जोडेर माछा मार्ने क्रममा गएको देखिन्छ ।

