Aamsanchar

झापामा निषेधाज्ञा परिमार्जन, व्यवसायीलाई समय राहत

Author Image
बिहिवार, साउन ७, २०७८

बिर्तामोड । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञालाई थप परिमार्जन गरेको छ । यस अघि भन्दा अझ समय लम्याए र पसल, होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने भएको छ ।

शुक्रबारदेखि खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक र हार्डवेयर पसल, निर्माणजन्य सामग्री, इलोक्ट्रोनिक्स, टेलरिङ्ग, लत्ताकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी, मोटरगाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसल विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने छ ।

यसअघि असार २१ गते बसेको बैठकले यि पसल विहान ६ बजेदेखि साँझ ५ बजेसम्म खोल्न पाउने निर्णय गरेको थियो । पसल सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न पसल सञ्चालकहरुलाई आग्रह गरिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको उक्त बैठकले जिल्लामा होटल तथा रेष्टुरेन्ट सञ्चालनको समयवधि पनि बढाएको उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए । होटल तथा रेष्टुरेन्ट साँझ ७ बजेसम्म सञ्चालनको निर्णय डीसीसीएमसीको बैठकले गरेको छ । ७ बजेपछि भने टेक अ‍ेव सेवा मात्र सञ्चालन गर्न पाइने निर्णय गरिएको छ । यसअघि होटल तथा रेष्टुरेन्ट सञ्चालनको समयअवधि ५ बजेसम्म तोकिएको थियो ।

बैठकले सबैप्रकारका सार्वजनिक तथा निजी सवारी साधानको हकमा लगाएको जोरविजोर प्रणाली हटाएको छ । अव स्वास्थ्य मापदण्ड पालना गरी सबैप्रकारका सवारी साधान सञ्चालन गर्न पाइने छ । यसअघिको बैठकले अत्यावश्यकसेवाहरु बाहेकका सबै प्रकारका निजी सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तरगत सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

डीसीसीएमसीको बैठकले निषेधाज्ञा खुकुलो बनाएपनि पुर्ण रुपमा भने खुल्ला गरेको छैन । बैठकले आगामी साउन १४ गतेसम्मका लागि निषेधाज्ञा जारी राखेको छ । सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ ।

Views: 337

प्रतिक्रिया (०)