Aamsanchar

झापामा पहिलो बाल अस्पताल संचालनको तयारी

Author Image
शुक्रवार, साउन ८, २०७८

प्रतिकात्मक तस्वीर गुगलबाट ।

दमक । झापाको दमकमा विशिष्टिकृत बाल अस्पताल सञ्चालनका लागि आवश्यक तयारी शुरु गरिएको छ ।

डाक्टर भगवान कोइरालासहितको टोलीले नेपाल रेडक्रस सोसाइटीको भवनको अवलोकन गर्दै विशिष्टिकृत अस्पताल बनाउन शुरु गर्ने गरीको तयारी गरेको जनाइएको छ । दमक नगरपालिकाले पनि यसलाई सहयोग गर्नका लागि नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले बताइन् ।

दमकमा बाल अस्पतालको जरुरत रहेको थियो र त्यसका लागि साझेदारीमा काम अघि बढिरहेको छ, अधिकारीको भनाइ रहेको छ । रेडक्रसले भवन उपलब्ध गराउने र बिभिन्न दाताहरुको सहयोगमा अस्पताल सञ्चालन गर्ने तयारी शुरु भएको रेडक्रस दमकका सदस्य विमल शर्माले बताए । ‘बिभिन्न चरणमा रेडक्रसले पनि यस बिषयमा छलफल चलाइरहेको छ’ –उनले भने ।

रेडक्रस सोसाइटी दमकले अस्पताल नै सञ्चालनका लागि भन्दै सुविधा सम्पन्न भवन निर्माण गरेको छ । सर्पदंश उपचार सेवासँगै बाल अस्पताल समेत सञ्चालनका लागि सोही भवनको प्रयोग गरिने जनाइएको छ । झापामा वालबालिकाको लागि मात्र उपचारका लागि कुनै पनि अस्पताल रहेको छैन ।

बालबालिका बिरामी भएको अवस्थामा यहाँबाट भारत लैजाने गरिएको छ । प्रदेश १ मा पहिलो पटक विशिष्ट बाल अस्पताल सञ्चालनको लागि डा. कोइराला, प्रदेश १ अर्थ सचिव उत्तरकुमार खत्री, स्वास्थ सचिव गोविन्द कार्कीसहितको टोलीले आएर रेडक्रसको भवन निरीक्षण गरिसकेको रेडक्रस दमकका सभापति प्रकाश बुढाथोकीले बताए ।

केही समय अघिदेखि नै डा। कोइरालाले दमकमा बाल अस्पताल सञ्चालनका लागि प्रयास गर्दै आएको पनि जनाइएको छ ।

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर