Aamsanchar

आर्थिक वर्ष २०७७/७८ मा झापाका कृषकलाई दुई करोड रूपैयाँ अनुदान

Author Image
आइतवार, साउन १०, २०७८

झापा – कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०७७/७८ मा जिल्लाका कृषकलाई करिब दुई करोड रूपैयाँ अनुदान उपलब्ध गराएको छ। केन्द्रले कृषि कार्यक्रमअन्तर्गत विभिन्न ११ शीर्षकमा १५९ व्यक्ति, कृषि समूह, कृषि सहकारी, फार्मलगायतलाई एक करोड ९९ लाख ५४ हजार ९०० रूपैयाँ अनुदान उपलब्ध गराएको केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराईले जानकारी दिए।

मागमा आधारित कार्यक्रमअन्तर्गत पाँच स्थानीय तहका किसानलाई दुई लाख ५० हजार, कागती खेतीमा सात स्थानीय तहका १२ फार्मलाई २१ लाख २३ हजार ३००, व्यावसायिक फलफूल बगैँचा स्थापनार्थ चार स्थानीय तहका पाँच फार्मलाई नौ लाख एक हजार १०० रूपैयाँ अनुदान उपलब्ध गराइएको छ। त्यस्तै‚ बिउबिजन आत्मनिर्भर कार्यक्रमअन्तर्गत तीन स्थानीय तहका चार फार्मलाई तीन लाख ९६ हजार ८००, बगरखेती प्रवर्द्धनका लागि ६ स्थानीय तहका १० फार्मलाई १० लाख एक हजार, जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्तार कार्यक्रमअन्तर्गत ६ स्थानीय तहका फार्मलाई ६ लाख, महिला, दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रमअन्तर्गत आठ स्थानीय तहका १० फार्मलाई १० लाख रूपैयाँ अनुदान दिइएको कृषि अर्थविज्ञ भट्टराईले बताए।

कृषि हाटबजार तथा सङ्कलन केन्द्र निर्माण गर्न तीन स्थानीय तह र एक सहकारी संस्थालाई ४० लाख रूपैयाँ अनुदान उपलब्ध गराइएको छ। गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, बुद्धशान्ति गाउँपालिका र टागनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थालाई १०र/१० लाख रूपैयाँका दरले दिइएको कार्यालयले जनाएको छ।

रैथाने बाली उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत मेचीनगर–१० की रुपा पौडेललाई एक लाख रूपैयाँ दिइएको छ। नमुना कृषि फार्म स्थापनाका लागि आठ स्थानीय तहका १० फार्मलाई २६ लाख ६९ लाख ३०० र कृषि यान्त्रिकीकरण, औजार खरिदका लागि ८२ व्यक्तिरसमूहलाई ७० लाख १३ हजार ४०० रूपैयाँ अनुदान सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ। कार्यालयले न्यूनतम १८ हजार ७०० देखि अधिकतम एक लाख २७ हजार ७०० रूपैयाँ अनुदान दिइएको बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर