

झापा– जिल्ला स्वास्थ्य कार्यालय झापाको गोदामबाट आज दिउँसो चार सय मात्रा भेरोसिल खोप लुटिएको छ । भद्रपुरका दुई वडाध्यक्षको नेतृत्वमा आएको समूहले खोप लगेको स्वास्थ्य कार्यालयले जनाएको हो । भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की र वडा नम्वर–८ का अध्यक्ष मनोज सुब्बा गौरवको नेतृत्वमा आएको समूहले खोप अनुमति बिनानै लगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जिबन चौलागाईले बताए ।

‘ शिवसताक्षी नगरपालिकाका लागि खोप पठाउने तयारीस्वरुप लोड भइरहेका बेला उहाँहरुले अनुमति बेगरनै लैजानुभयो ’ चौलागाईले भन्नुभयो । स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले दुई जना वडाध्यक्षको नेतृत्वमा हुलदङ्गा गर्दै स्वास्थ्य कार्यालयको गोदामबाट खोप लगेको विषयमा प्रशासन कार्यालयलाई लिखित जानकारी गराइसकेको बताए ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको बैठकमा सहभागी भइरहेका बेला खोप लुटिएको जानकारी आफूले पाएको र तत्काल कार्यालय पुगेको घिमिरेले बताए ।



