मानव बेचबिखन एउटा यस्तो अपराध हो, जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरूलाई समेत श्रम, यौन जस्ता गलत कार्यहरूमा जबर्जस्ती संलग्न गराउँछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यलाई मात्र मानव बेचविखन मान्ने परिभाषा निकै पुरानो भइसकेको छ ।
मानव बेचबिखनको प्रवृत्ति फेरिँदै गएको छ । कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसार–पसार मानिन्छ ।
सन् २०२१ मा यस दिवसको नारा चाहिँ ‘Victims Voices Lead the Way’ हो । ‘पीडितहरूका आवाजले बाटो देखाउनेछ’ भन्ने ध्येयका साथ आगामी वर्षहरूमा आवाज र मुद्दा दुवैलाई सम्बोधन गरिएको छ ।
संसार आधुनिकीकरणको युगमा छ । तर पनि अझ नेपालसहित विश्वका धेरै देशहरूमा मानव बेचबिखन तथा ओसार–पसार निक्कै गम्भीर समस्याका रूपमा पाइन्छ । रोजगारीको अभाव तथा वैदेशिक रोजगार, गरिबी, शिक्षा र जनचेतनाको कमी, मानव बेचबिखनको प्रमुख कारण बन्दै आइरहेका छन् । हरेक वर्षझैँ आज पनि ३० जुलाईको दिन संयुक्त राष्ट्र संघले मानव बेचबिखनसम्बन्धी जनमानसमा सचेतना फैलाउन ‘अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस’ मनाउँदैछ ।
गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक जागिरको प्रलोभनमा त कतिलाई विवाहवारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करीका घटना बग्रेल्ती मात्रामा भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक मुलुकको सरकारले गरिबी हटाउने कामलाई विशेष जोड दिने र रोजगारीका अवसर सिर्जना गर्ने नीति अपनाउनु पर्छ ।
नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसार–पसार नियन्त्रणसम्बन्धी कानुन कार्यान्वयनमा ल्याएको छ । तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरू सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन ।
कहिले सयौँ नेपाली बालबालिकाका शरीरबाट अंगहरू झिकेर बिक्री गरिएको खबरहरू आउँछन् भने कहिले आकर्षक जागिर लगाइदिने भन्दै भारतको कोठीमा बेचिएका युवतीहरूको खबर । हामी विकास र प्रगतिको प्रयास त गर्दैछौँ, तर यी र यी जस्ता थुप्रै सुन्न नसकिने घटना निर्मूल हुनु नै हाम्रो देशको असल सफलता र असल प्रगति हुनेछ । मानव बेचबिखन जस्ता अपराध अन्त्य गर्न आवाज उठाऊ ।