Aamsanchar

५ वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ

Author Image
शुक्रवार, साउन १५, २०७८

जनकपुरधाम – महोत्तरीमा पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालकको बुवा रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेको प्रहरीले जनाएको छ। उनीहरुले आफ्नै ५ वर्षीय छोरा रितेश यादवको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो।

बालक रितेश बुधवार साँझदेखि हराई रहेको थिए। बालक हराए पछि चारै तिर खोजतलास गरेपनि नभेटिएको र विहिबार विहान बालक घर भन्दा ५० मिटर पश्चिम हिरा साहको फुलवारीमा रहेको केराको बोट नजिक मृत अवस्थामा परालले छोपेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बालक हराएको भन्दै कान्छी आमा रागनी र बुबा चन्द्र किशोर फरार भएका थिए। हराएका छोरा खोज्न भन्दै गएका दुवैजना बेपत्ता भएका थिए। चन्द्र किशोरको सात वर्ष पहिले रजनी यादवसँग मागी विवाह गरेकामा पहिलो श्रीमतीबाट दुई छोरा थिए। चन्द्र किशोरले एक वर्ष पहिले रागनी मुखियासँग दोस्रो बिहे गरेका थिए।

यता रागनीसँग दोश्रो बिहे भएपछि परिवारमा खटपट हुदै आएकोमा रजनीले दुवै छोरालाई बुवाकै जिम्मा दिई केहि दिनदेखि माइत मै बस्दै आएकी थिइन्। दुई मध्ये जेठो छोराको शव शंकास्पद अवस्थामा भेटिएपछि स्थानीयले बुवा र कान्छी आमा मिलेर हत्या गरिएको आशंका गरेका छन्। साथै दुबै जना (बुवा र कान्छी आमा) सम्पर्कविहीन बने पछि स्थानीयको कुरालाई थप पुष्टी हुने अवस्था देखिएको भन्दै प्रहरीले उनीहरुको खोजतलास सुरु गरेको थियो।

खोजतलासको क्रममा कान्छी आमा रागनीलाई उनको माइती धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट र बुवालाई रामगोपालपुरमै लुकिछिपी बसेको अवस्थामा बिहीवार राति पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले बताए। पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याउने काम भइ रहेको बताउँदै उनले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर