बिर्तामोड – बिर्तामोडको टाइमलेस होटलमा कोरोना बिरुद्धको भेरोसेल खोपसहित नगरका कोभिड फोकल पर्सन ओमबहादुर खड्का शंकास्पद अवस्थामा फेला परेको घटनाको छानविन गर्न समिति गठन भएको छ । जिल्ला कोभिड खोप व्यवस्थापन समितिको आज बसेको बैठकले सहायक प्रजिअ तिलोचन रिमालको संयोकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो । बैठकले बिर्तामोडको खोप काण्ड ७ दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने निर्णय गरेको छ साथै बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्कालाई छानबिन प्रतिवेदन सार्वजनिक नहुँदासम्मको लागि खोप सम्बन्धि कुनै गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।
५ सदस्यीय छानविन समितिको सदस्यहरुमा जिल्ला समन्वय समितिका अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी वल २ नं. हेडक्वाटरका सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् । बैठक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको थियो ।