Aamsanchar

बिर्तामोड खोप प्रकरण : बिर्तामोड उद्योग बाणिज्य संघद्वारा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख समेतको संलग्नमा भएको आरोप

Author Image
शनिवार, साउन १६, २०७८

बिर्तामोड।   कोरोनाविरुद्धको खोप काण्डमा संलग्नलाई कारबाही गर्न बिर्तामोड उद्योग वाणिज्य संघले माग गरेको छ ।

वाणिज्य संघले खोप काण्डको सत्यतथ्य उजागर गर्न तथा दोषीलाई कारबाही गर्न सशक्त खबरदारीमा उत्रिने चेतावनी दिएको छ । संघले घटनामा संलग्न सबैलाई कारबाही गर्न स्थानीय, प्रदेश र केन्द्रसहित तीनै तहका सरकार समक्ष माग गरेको हो ।

संघले शनिबार पत्रकार सम्मेलन गरी बिर्तामोडको खोप काण्ड जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख समेतको संलग्नमा भएको दाबी गरेको छ ।

संघले विभिन्न बहानामा होटलमा खोप लुकाईछिपाई राख्नु गम्भीर घटना भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ । ‘खोपका लागि हामीले सरोकारवाला निकायमा पटकपटक अनुरोध गर्यौं । खोप छैन भन्दै हामी व्यवसायीलाई खोप दिइएन । तर २ सयभन्दा बढी डोज खोप होटलमा लुकाईछिपाई राख्नु निन्दनीय र अपराधजन्य घटना हो’ संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले भने,‘खोप होटलमा लुकाएर राख्ने काम गलत हो । यसमा संलग्नलाई कारबाही हुनैपर्छ ।’

संघले खोप काण्डको सत्यतथ्य सार्वजनिक नभएसम्म उद्योगी व्यवसायी, राजनीतिक दल, अधिकारकर्मी, सञ्चारकर्मी, आम नागरिक सबैलाई निरन्तर खबरदारी गर्न अपिल समेत गरेको छ ।

घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलक रिमालको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनिसकेकाले समितिले निर्धारित समयभित्रै सत्यतथ्य सार्वजनिक गर्नेमा आफूहरु विश्वस्त रहेको संघका अध्यक्ष प्रकाश सिवाकोटीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)

सम्बन्धित खबर