Aamsanchar

संखुवासभाको चिचिला गाउँपालिकामा भौतिक उपस्थितिमा नै पठनपाठन

Author Image
बुधवार, साउन २०, २०७८

संखुवासभा – स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्दै चिचिला गाउँपालिकाले विद्यालयमा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयले भने कोरोना संक्रमण जोखिम कामयै रहेको भन्दै साउन २४ सम्म निषेधाज्ञा जारी गरेको छ।

कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका चिचिलाका ६ वटै वडाका विद्यालयहरुमा पठनपाठन सुरु भएको छ। गाउँपालिकाको निर्णयपछि विद्यालयमा भौतिक रुपमै उपस्थित भएर आइतबारदेखि पठनपाठन सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिइन्। उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको बताइन्। चिचिला गाउँपालिकामा प्राथमिक, आधारभूत र माध्यमिकसहित २१ वटा विद्यालय छन्।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने विद्यालय सञ्चालनबारे आफूलाई जानकारी नआएको बताए। भौतिक रुपमा उपस्थित भए विद्यालय सञ्चालन गर्न कुनै अनुमति नदिएको उनको भनाइ छ। भौतिक रुपमा उपस्थित भएर विद्यालय खोल्न सिसिएमसीले निर्णय नगरेकाले विद्यालय सञ्चालन गर्न नपाइने प्रजिअ पौडेलले बताए। यदि कुनै स्थानीय तहले सञ्चालन गरेको भए तत्काल विद्यालय बन्द गर्दै निषेधाज्ञाको पालना गर्ने निर्देशन दिए।

कोरोना संक्रमण कायमै रहेको बेला विद्यालय सञ्चालन गर्नु बालबालिकामाथि खतरा भएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका प्रमुख रमेश बाह्रकोटी बताउँछन्। अहिलेको अवस्थामा विद्यालय सञ्चालन गर्नु उपयुक्त नभएको उनको भनाइ छ। संखुवासभामा कोरोना संक्रमितको संख्या २८ सय ३३ पुगेको छ। जसमध्ये सक्रिय संक्रमितको संख्या ६३२ छ भने हालसम्म १० जना संक्रमितको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर