Aamsanchar

‘अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागिता’

Author Image
बिहिवार, साउन २८, २०७८

अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।

सन् २०२१ को युवा दिवसको नारा भने यसप्रकार छ । ‘Transforming Food Systems Youth Innovation for Human and Planetary Health’  युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै यो वर्ष खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्व दिइएको छ । खाद्यान्न सुरक्षा र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्व दिइएको छ । नेपालजस्तो कृषि–प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने स्पष्ट देखिन्छ ।

युवा जनसंख्यालाई संसारका कुनै पनि देशले आ–आफ्नै उमेरको परिधिमा राखेको छ, तथापि युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेगसहितको युवा अवस्था शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था हो ।

त्यसैले पनि होला, युवाहरूलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनका लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । इतिहास साक्षी छ, युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौति दुवै हुन् ।

नेपाली गाउँहरूमा आजभोलि पहिलेजस्तो युवाहरूको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र ! हाम्रा देशका युवाहरू गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन्–झन् बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र उर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको छैन । हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे–हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।

वैदेशिक रोजगारबाट आएका विप्रेषण ‘रेमिट्यान्स’को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मीठा खाना अनि महँगा टिभी, मोबाइलहरू हात–हातमा देखिए तापनि यसरी सधैं लाहुरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।
दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनमा आश्रित परिवारका आँसुको हिसाब–किताब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरू गहना हुन भने देशको सम्पत्तिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हाबी भइरहने पारम्परिक चिन्तनलाई चिर्न भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक छ । पुल–पुलेसा, बाटो–घाटो अनि विभिन्न पुनर्निर्माण तथा विकासका अग्रगामी सोच र त्यो सोचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरूको भुमिका अपरिहार्य छ, ‘हे युवा जय युवा ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 216

प्रतिक्रिया (०)

सम्बन्धित खबर