

विराटनगर । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अगाडी युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १ नम्बर प्रदेश प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्की थिए ।

बुढानिलकण्ठमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा निवास अगाडी प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

प्रमुख सचेतक कार्कीले भने,“समयमै महाधिवेशन गर्न र पार्टीलाई अनिर्णयको बन्दी नबनाउन माग गर्दै हामीले लोकतान्त्रिक पार्टीलाई बचाउन भनेका हौं ।” कार्कीले पार्टीलाई विभिन्न माध्यमबाट पटक पटक महाधिवेशन वैधानिक तवरले माग हुँदै आएको सुनाए ।

कांग्रेसलाई संवैधानिक संकटबाट जोगाउन समयमै महाधिवेशन गराउनुपर्ने, विधान मिच्न नपाइने, संविधान मिच्न नपाइने नारा लेखिएका प्लेकार्ड युवा नेता तथा विद्यार्थीले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले फर्जी क्रियाशील सदस्यता खारेजीको माग गरेका छन् ।

