समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दू दर्शनका पुर्नब्याख्याकार, धार्मिक आख्यानकार र कविका रूपमा प्रसिद्ध तुलसीदास प्रभु ९सन् १५३२ देखि १६२३० को आज जन्मजयन्ती, उनी गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् ।
तुलसीदास प्रभु विशेषतः भगवान श्रीरामप्रतिको सर्मपण अनि उनका खण्डकाब्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीदासकृत रामायण)का लागि यस पृथ्वीमा प्रसिद्ध छन् । छन्दगत अभिब्यक्तिका लागि उत्कृष्ट तुलसीदास प्रभुले यो जगत छाडेर गएको लामो समय भइसके पनि विभिन्न पूजाकोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि विद्यापीठहरूमा तुलसीदास प्रभुको अवधि भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।
कवि तुलसीदासलाई वाल्मिकीको पुर्नजन्मका रूपमा समेत लिइन्छ । अझै पनि उनले लेखेका हनुमान चालीसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दू अनुयायीहरूले अर्चना गरिने, गाउने अनि जप्ने गर्छन् ।
आफ्नो जीवनको अधिकांश समय तुलसीदासले वनारसको वाराणसीमा बिताएका हुन् । वनारसमा अझै पनि तुलसीदासको नाममा एउटा घाटको नामांकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महिना आमाको गर्भमा रहेका र जन्मिँदा नै १२ वटा दाँतसहित जन्मिएका थिए भन्ने धारणा समाजमा पाइन्छ ।
जन्मनासाथ अरु बच्चाहरू झैँ नरोइकन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसैकारणले उनको नाम ‘रम्बोला’ रहन गएको भनी तुलसीदास प्रभु आफैँले पत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात् केही दिनमै बुबाको मृत्यु भएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए ।
यसैक्रममा रामायणका घटनाक्रम, पात्रहरू, छन्द, ज्ञान अनि परिवेशहरूसँग तुलसीदास प्रभुको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यवहारिक अध्ययन र सर्वेक्षण जस्तै भएको हुनुपर्छ । घर–घरमा रामायणका गीत अनि श्लोकहरूसँग बालक रम्बोलाले अभ्यास गर्दै गए अनि भिक्षुकका रूपमा जीवन निर्वाह गर्दैगए ।
तुलसीदासबारे एउटा प्रचलित अवधि भाषाको श्लोक नेपाली भाषामाः
चित्रकुटको घाटमा भयो, सन्तहरूको भीड
तुलसीदास प्रभु चन्दन घस्ने, टिका लाउने रघुवीर
यस्ता धार्मिक साधकहरू चाहे कालिदास हुन् या तुलसीदास, उहाँहरूको समाज रूपान्तरणका कथाहरू अझै पनि मैथिली र अवध गाउँहरूमा बडो रस अनि सम्मानका साथ सुनाइने गरिन्छ । तुलसीदास शुरुवातकालीन दिनमा आफ्नी श्रीमती रत्नावलीप्रति अत्यन्तै आशक्त थिए । श्रीमती माइत गएको बेला एक दिन पनि छुट्टिएर बस्न नसक्ने तुलसीदास एक दिन साँझमा लुकेर ससुरालीको भित्ता चढेर श्रीमतीको कोठा पुगेका थिए । त्यतिखेर झुक्किएर डोरी भन्ठानेर सर्प समाती चढेका तुलसीदास सर्पदशंबाट धन्न बाँचेका थिए । श्रीमतीले तपाईं मप्रति कति धेरै आशक्त हुनुभएको यो आशक्तता धर्म र भगवानमा भइदिएको भए आज तपाईँ कति ठूलो साधु हुनु हुने थियो भनेपछि धर्म र साधनाप्रति लागेका तुलसीदासका वाणीहरू आधुनिक युगमा पनि उत्तिकै जनप्रिय तथा सान्दर्भिक छ ।
तुलसीदास सामान्य जीवन बाँच्ने तर असामान्य सृजना र कृतिका रचयताका रूपमा आज पनि धेरैका प्रेरणाका स्रोत हुन् । तुलसीदास ब्रम्हलीन भएको सय वर्षपछि पनि उनका अनुयायी प्रियदासले तुलसीदासको मृत्यु र उनका जीवनका सात वटा अद्भूत आत्मिक अनुभवकाबारेमा भक्ति रसवोधनी लेखेका हुन् । यस्तै अर्का भक्त नभदासले त तुलसीदासलाई वाल्मिकीको अवतारकै रूपमा आफ्नो कृति भक्तकमलमा ब्याख्या गरेका छन् ।
धर्म र भगवानप्रतिको भक्ति र सर्मपणको मार्गमा लम्किएका तुलसीदासको आज जन्म जयन्ती परेको छ । उनका विचारलाई हिन्दू–धर्मको परिधिबाहिर पनि सहजै ब्याख्या गर्न सकिन्छ । उनी धार्मिक भन्दा पनि सामाजिक मर्म, मानवता अनि सारा जीवजन्तु, प्रकृतिका प्रवक्ता हुन् ।
तुलसीदास प्रभुको भनाई स् ‘म उनलाई राम भन्छु, तिमी उनलाई आफ्नो हिसाबले जे नामले पनि सम्बोधन गर्न सक्छौँ । केवल उनमा तिमी विश्वास राख, भौतिक आशक्तिलाई उनको सामु त्याग गर । अनि हेर विना कुनै कसरत तिमी एक अनुशासित विचारक भइसकेका हुनेछौँ ।’
हिन्दू, बौद्धमार्गी, इस्लाम, जैन या अन्य धर्म मान्नुहुन्छ या धर्म नै नमान्ने नास्तिक हुनुहुन्छ भने पनि सत्य र मौलिकताको पथमा अघि बढ्न हामीलाई आजको दिनले प्रेरित गरोस् । सेवा नै धर्म हो ।