Aamsanchar

४० वर्ष भारतीय जेल जीवन भोगेका इलामका दुर्गाप्रसादलाई विराटनगरको आश्रममा राखिने

Author Image
बुधवार, भदौ २, २०७८

विराटनगर – ४० वर्ष लामो भारतीय जेल जीवन भोगेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई अब विराटनगरस्थित मानव सेवा आश्रममा राखेर उपचार गरिने भएको छ। लामो जेल जीवनले मानसिक स्वास्थ्यमा समस्या झेलिरहेका दुर्गाप्रसादलाई घरमा राखेर उपचार गर्न नसकिने अवस्था भएपछि माई नगरपालिका, मानवअधिकार मञ्च इलाम र परिवारको पहलमा आश्रममा राखिने भएको हो।

‘घरमा राखेर उहाँको स्वास्थ्य सुध्रिने अवस्था देखिएन,’ दुर्गाप्रसादका भतिजा गोपालले भने, ‘त्यसैले उहाँलाई आश्रममा राख्ने भएका हौं। अहिले उहाँलाई लिएर विराटनगर आउँदैछौं , बाटोमा छौं।’ विराटनगरमा सञ्चालित आश्रमले चिकित्सकीय निगरानी र उपचारसहित राख्ने वचन दिएपछि दुर्गाप्रसादलाई विराटनगर ल्याइने भएको हो।

उनको उपचार विराट मेडिकल कलेजमा भइरहेको थियो। चिकित्सकले उपचार सुरू गरेर औषधि दिएपछि फलोअपमा आइरहन भन्दै उनलाई घर पठाएका थिए। केही महिनाको उपचार प्रक्रियाले पनि उनको स्वास्थ्यमा सुधार भने आएको छैन। ‘घरमा बुबा, हजुरआमा, फुपू, ठूलोबुबा र म छौं, हजुरआमा वृद्धा हुनुहुन्छ। फुपू पनि बिरामी नै हुनुहुन्छ’, गोपालले भने ‘ठूलोबुबाले फोहोर खेलाउने, त्यसो नगर्न सम्झाउँदा आक्रमण नै गर्न थाल्नुभयो। त्यसैले आश्रममा पठाउन बाध्य भयौं।’

स्वयंसेवीहरूले विराटनगरमा सञ्चालन गरेको आश्रममा सडकमा अलपत्र जीवन बिताइरहेकाहरूको संरक्षण गरेर राखिएको छ। दुर्गाप्रसादलाई पनि त्यहीँ राखिने मानव अधिकार मञ्च इलामले जनाएको छ। ‘त्यहाँ उहाँलाई राख्न मासिक पाँच हजार खर्च लाग्ने रहेछ’, मञ्चका अधिकृत याम मावोहाङ लिम्बूले भने,‘त्यो खर्च माई नगरपालिकाले व्यहोर्ने भएको छ।’

चार दशक अनाहकमा भारतीय जेलमा बिताएका उनी गएको चैत ८ मा नेपाल आइपुगेका थिए। नेपाल आएपछि इलामको माइनगर १० स्थित घरमा थिए। मानसिक स्वास्थ्यको उपचार जारी रहेकै बेला दुर्गाप्रसाद गएको आइतबार हराएका थिए। उनलाई प्रहरीले इलामको जौबारीमा फेला पारेको थियो। कलकत्तास्थित दमदम जेलबाट उनी चैत ७ मा रिहा भएका थिए।

लामो समयबिना सुनुवाइ जेलमा रहेकै बेला उनको स्वास्थ्यमा समस्या आएको र उनको उपचार गर्नुपर्ने भारतीय चिकित्सकले बताएका थिए। नेपाल ल्याउनासाथ उनको उपचार सुरू भएको थियो। तर, अहिले पनि उनको स्वास्थ्यमा सुधार आइसकेको छैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर