‘येन बद्धो बली राजा दानवेन्द्रो महाबलः ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।’
अर्थात्
‘जुन रक्षा (काँचो धागो) ले दानवहरूका महान राजा बलीलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्छु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’
आजको दिनलाई नेपाल भाषामा गुंपुन्हि पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई ‘गुंला महिनाको पुन्हि’ अर्थात् ‘गुंपुन्हि’ भनी मनाउँछन् ।यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल बिहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दू परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । कतिपयले आफैँ गुरु पुरोहित कहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।
यसै दिन दिदी–बहिनीहरूले आफ्ना दाजु–भाइका दाहिने हातका नाडीमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फूल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढिरहेको छ ।
विशेषतः ब्राह्मण, क्षेत्री या अन्य कुनै बैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ ।
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, ‘रक्षा’ र ‘बन्धन’ । संस्कृत शब्दावलीको अनुसार यसको अर्थ ‘सुरक्षाको गाँठो’ हुन्छ । यो चाड दाजुभाइ–दिदी–बहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो । यो केवल रगतको सम्बन्ध मात्र नभई आफूले दिदी–बहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ ।
यस दिन, दिदी–बहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसीको प्रार्थना गर्न आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनका धागो बाँधिदिने चलन छ । त्यसैगरी दाजुभाइले पनि दिदी–बहिनिलाई उपहार दिन्छन् । आफ्ना दिदी–बहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन् ।