काठमाण्डाै – अलैंची निर्यात बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी अलैंचीको माग बढ्दै गएपछि ७४ प्रतिशतले निर्यात बढेको हो। गएको आर्थिक वर्ष पाँच हजार १२ मेट्रिकटन अलैंची निर्यात भएको व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०७७/०७८ मा आठ हजार आठ सय ५७ मेट्रिकटन अलैंची निर्यात भएको थियो । त्यसअघिको आर्थिक वर्ष २०७६/०७७ मा पाँच हजार १२ मेट्रिकटन निर्यात भएको थियो ।
अलैंची निर्यात बढेसँगै गएको आर्थिक वर्ष ७ अर्बभन्दा बढी रुपैयाँ भित्रिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७ अर्ब २ करोड २४ लाख ९२ हजार रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा भने ४ अर्ब १ करोड ९२ लाख १४ हजार रुपैयाँ भित्रिएको छ । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा पाँच हजार दुई सय ४० मेट्रिकटन निर्यात हुँदा ४ अर्ब २८ करोड ४१ लाख ९९ हजार रुपैयाँ भित्रिएको केन्द्रले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा अलैंचीको माग बढ्दै गएकाले निर्यात बढेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पाकिस्तान, बंगलादेश, साउदी अरब र दुबईमा अलैंची निर्यातका लागि छलफल भइरहेको छ । भारतमा अलैंची उत्पादन हुने क्षेत्रमा अलैंची मासिन थालेपछि यो वर्ष भारतमा अलैंचीको माग बढी भएको व्यवसायीको भनाइ छ ।
उत्पादित अलैंची निर्यातको मुख्य बजार भारत हो । भारतसँगै चीन, यूएई, पाकिस्तान लगायतका देशमा पनि नेपाली अलैंची निर्यात हुने गर्दछ । नेपालबाट निर्यात भएको अलैंची भारतले प्याकेजिङ, ग्रेडिङ गरेर भुटान र बंगलादेशमा पठाउने गरेको पनि केन्द्रले जनाएको छ ।
अलैंची खेती विस्तार हुँदै
प्रदेश एकको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार देशभर १२ हजार पाँच सय आठ हेक्टरमा अलैंची खेती हुँदै आएको छ, जसमा प्रदेश १ का हिमाली तथा पहाडी जिल्लामा ११ हजार ६ सय सात हेक्टर क्षेत्र रहेको छ । नेपालमा अलैंचीको कुल उत्पादन वार्षिक रुपमा ६ हजार पाँच सय २० मेट्रिक टन रहेको छ, जसमा ९३ दशमलव ४९ प्रतिशत अलैंची प्रदेश १ मा मात्रै उत्पादन हुने गरेको पाइन्छ । इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, धनकुटा, दोलखा, काभ्रेपलाञ्चोकलगायत ३९ जिल्लामा अलैंचीको खेती हुन्छ ।
अलैंची निर्यातजन्य बहुमूल्य मसला बाली हो । एक पटक रोपेपछि १५–२० वर्षसम्म यसले उत्पादन दिन्छ । किसानलाई आधुनिक भट्टी, निःशुल्क अलैंचीको विरुवा, र तालिम दिने जस्ता सरकारी सहयोगका साथै उचित मूल्य पाएकाले खेती विस्तारमा किसान पनि लागी परेकाले खेती विस्तार हुँदै गएको हो ।
अलैंची खेती प्रदेश २ बाहेक अरु सबै प्रदेशमा फैलिएको छ । यसको खेती पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको डोटीसम्म हुने गरेको छ । ’डम्मरसाई’, ’रामसाई’, ’चिवेसाई’, ’गोलसाई’, ’राम्ला’, साउनेलगायत नेपालमा रोपिने अलैंचीका प्रमुख जात हुन् ।
गोदाममा राखिएका कस्ता अलैंची सुरक्षित ?
परम्परागत अलैंची भट्टीमा र आधुनिक भट्टीमा सुकाएर दुई तरिकाले प्रशोधन गरिन्छ । परम्परागत अलैंची भट्टीमा सुकाइएका अलैंची कम गुणस्तरको हुन्छ । आधुनिक भट्टीमा सुकाइएका तयारी नेपाली अलैंचीको गुणस्तर राम्रो र लामो समयसम्म भण्डारण गरेर राख्न सकिने माईजोगमाई गाउँपालिका– १ इलामका किसान तथा व्यवसायी कुशुम दाहाल बताउनुहुन्छ ।
भण्डारण गरेर राखिएका अलैंचीलाई पाटको बोरामा राख्ने, घाम नलाग्ने ओसिलो ठाउँमा राख्नाले यस्ता अलैंची वर्षौँवर्षसम्म सुरक्षित हुने गरेको पाइएको छ । प्लाष्टिकको बोरामा राखिएका अलैंचीमा भने ढुसी आउने, तौल कम हुने, स्वादमा फरक हुने जस्ता समस्या देखा पर्ने किसान हिमादेवी गौतमको अनुभव छ ।
तयारी अलैंची भण्डारण गरेर राखेको ५ वर्ष बित्दा समेत जस्ताको त्यस्तै रहने गौतमले जानकारी दिनु भयो।