काठमाण्डौ – गएको आर्थिक वर्षमा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास आयात भएको छ । आर्थिक वर्षा २०७७/०७८ मा एक करोड ३९ लाख ६९ हजार एक ३५ ‘बुक’ तास आयात भएको भन्सार विभागले जनाएको हो । यस्तै गएको आवमा तास आयातमार्फत १५ करोड ४८ लाख ५९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गएको आवमा पाँच करोड सात लाख ७१ हजार रुपैयाँ बढीको तास आयात भएको विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ३२ लाख ६७ हजार बुक तास आयात भएको थियो । यी तासको मूल्य २३ करोड ५४ लाख ९३ हजार रुपैयाँ रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालमा विशेष गरेर चीन, भारत, थाइल्यान्ड र मलेसियाबाट तास आयात हुने गरेको छ । नेपालमा जुवातास खेल्नुलाई गैरकानुनी मानिए पनि बर्सेनि करोडौँको तास आयात हुँदै आएको छ । तर नेपालमा तास आयातमा भने कुनै प्रतिबन्ध छैन ।
६ करोड ३३ लाखको कोदो आयात
भन्सार विभागका अनुसार गएको आवमा ६ करोड ३३ लाख १९ हजार रुपैयाँको कोदो आयात भएको छ । एक वर्षको अवधिमा १९ लाख नौ हजार तीन सय ७० किलोग्राम कोदो आयात भएको हो । नेपालमा कोदोको उत्पादन घट्दै जाँदा भारत, चीन लगायतका देशबाट कोदो आयात हुँदै आएको छ ।
कोदोबाट बन्ने परिकारलाई निकै स्वस्थ मानिए पनि उत्पादनमा प्राथमिकता नदिँदा बर्सेनि करोडौँ रुपैयाँको कोदो आयात हुने गरेको छ । गएको आवमा कोदो आयातमार्फत ३१ लाख ७९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार विभागले जनाएको छ ।