Aamsanchar

अलैँची विकास केन्द्र इलामद्वारा ८० हजार मात्रै बिरुवा उत्पादन, किसानको मागअनुसार पुगेन

Author Image
मङ्गलवार, भदौ ८, २०७८

इलाम- विभिन्न जातका अलैँचीको बिरुवा उत्पादन गरिरहेको अलैँची विकास केन्द्र इलामले यस वर्ष ८० हजार मात्रै बिरुवा उत्पादन तथा बिक्री गरेको छ । रामसाइ, गोलसाइ, डम्बरसाइ, भार्लाङ र जिर्मले जातका बिरुवा उत्पादन गर्दै आएको केन्द्रमा बिरुवाको माग भने उच्च रहेको जनाइएको छ ।

बर्सेनि रोगको चपेटा र मूल्य गिरावटको समस्या झेल्दै आएका किसानले अलैँचीका बिरुवा भने रोप्न छोडेका छैनन् । छिर्के, फुर्के, गानो कुहिने, डढुवाजस्ता रोगले बगान नै सखाप हुने अवस्था आए पनि किसानले नयाँ बिरुवा विस्तार भने गरिरहेका छन् । ‘रोगले सबै बगान सखाप भएपछि किसानले दुई/चार वर्ष सबै जातका बिरुवा उचाइ नहेरी सबै क्षेत्रमा विस्तार गरे, त्यो पनि सफल नभएपछि अहिले किसानले पुनः कुन उचाइमा कुन जातको बिरुवा लाग्छ त्यो हेरेरमात्र लगाउन थालेका छन् । ’
अलैैैैँची विकास केन्द्र पान्दाम इलामका प्राविधिक सहायक दिलबहादुर श्रेष्ठले भन्नुभयो “अहिले उचाइअनुसारकै लाग्ने जातका बिरुवा माग गरिरहेका छन् । यस वर्ष किसानको मागअनुसार बिरुवा पुगेन । ”

केन्द्रमा अहिले जिर्मले जातका बिरुवा मात्र बाँकी छन् । केही तातो र सुक्खा स्थानमा अर्थात् छ सयदेखि एक हजार दुई सय मिटर उचाइभित्र मात्र जिर्मले जातलाई खेती गर्न सकिन्छ । अहिले उच्च तथा लेकाली क्षेत्रमा हुने भार्लाङ जातको बिरुवा माग भइरहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यस वर्ष ४० हजार बिरुवा लमजुङ र ३० हजार सङ्खुवासभा निकासी भएको छ । बाँकी बिरुवा जिल्लाभित्रै किसानले रोपेका छन् । ४.५ देखि ६.० सम्म अम्लीय पना भएको माटोमा फस्टाउने अलैँचीको बीउबाटै उमारिएको नयाँ बिरुवा विस्तार गर्न उचित हुने प्राविधिकहरू बताउँछन् । गानोबाट सारिएका बिरुवामा रोग निर्मूल नहुने बीउबाट बनाइएका बिरुवामा रोगको खतरा कम हुने उनीहरूको भनाइ छ ।

तर यस वर्ष पनि बगान नै अलैँचीको पात रातो हुने, डाँठ कुहिने र बगान नै सुक्ने समस्याले किसान भने निराश भएका छन् । भर्खरै उत्पादन सुरु भएका बगानमा यस्तो रोग देखा परेपछि पुनः लगाउन थालिएको अलैँचीलाई कसरी बचाउने भन्ने समस्या भएको माईजोगमाईका किसान लक्ष्मण काफ्लेले बताउनुभयो । माईजोगमाईका सोयाङ, प्याङ, सन्दकपुरका माईमझुवा, माबुलगायतका गाउँमा लगाइएको अलैँची बगान रोगका कारण नष्ट भएका छन् । केन्द्रको तथ्याङ्क अनुसार नेपालका ५४ जिल्लामा १७ हजार चार हेक्टर जमिनमा अलैँची खेती हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर