मेचीनगर-झापाको मेचीनगरस्थित चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्न लागिएको छ । हाललाई नगरभित्रका अधिकाँश सामुदायिक वनलाई समेट्ने गरी निर्माण हुने ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारले आगामी दिनमा तेलपानी सामुदायिक वनलाई समेत समेट्ने छ ।
चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्मको ६ दशमलव ३४ किलो मिटर र मागुरमाडी वन मुल खण्डको ५१ दशमलव ३६ किलोमिटरमा तारवार निर्माण हुने भएको हो । क्रमागत वजेट अनुसार वन मन्त्रालयको हाल ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने छ ।
मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसदहरुको लामो प्रयास पछि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य शुरु गर्न लागिएको हो । बुधबार मेचीनगर नगरपालिकाको सभाकक्षमा मानव हात्ती द्वन्द व्यवस्थापन लागि यसक्षेत्रका १ नम्बर प्रदेश सभा सदस्य, बुद्घशान्ति गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष नगरका जनप्रतिनिधिहरु, डिभिजन वन कार्यालय झापा, कोषका प्रतिनिधि,नगरभित्र रहेका विभिन्न सामुदायिक वन, नेपाली सेना तथा सरोकारवाला निकायबीच छलफल भएको छ ।
छलफलमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको तयारीमा लाग्न सवैपक्ष सकरात्मक देखिएका छन् । मेचीनगर नगरपालिकाको पहलमा राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार गर्नका लागि क्षेत्र निर्धारणका लागि ‘स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालि’ले तयार गर्ने विस्तृत परियोजना प्रतिवेदन डीपीआरका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग भएको अन्तरक्रिया र सुझावलाई समेत समेटेर विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने र यसका लागि आवश्यक सहयोग स्थानीय सरोकारवालाबाट पुर्याउने निर्णय भएको छ । योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भए लगत्तै यसैवर्षभित्र ठेक्का प्रक्रियाबाट काम शुरु गरिने छ ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा भएको छलफलमा स्थानीय सरकार, यसक्षेत्रका सांसदहरुको निक्कै लामो पहलमा योजना शुरु गर्न लागिएको बताउनुभयो । नगरप्रमुख आचार्यले पछिल्लो समय मेचीनगरवासी जंगली हात्तीको चपेटामा परेकाले मेचीनगरसहित जिल्लामा देखिएको जंगली हात्तीको आतंक दीर्घकालिन समाधानमा सवैपक्ष लाग्नुपर्नेमा जोडदिनुभयो । उहाँले जंगली हात्तीको क्षति न्यूनिकरण गर्न जिल्लाका विभिन्न स्थानमा गरिएको ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारको उदाहरण दिदैं यसले जंगली हात्तीबाट हुने क्षति न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो । यो योजनालाई सफल बनाउ हरेक क्षेत्र लाग्न समेत नगरप्रमुख आचार्यले आग्रह गर्नुभयो । उहाँले यो डीपीआरलाई तेलपानी सम्म पुर्याउने लक्ष्य लिइएको जानकारी गराउनुभयो । वनसँग जोडिएका बस्ती बढी प्रभावित भएकाले वनको समेत संरक्षण हुने गरी ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार गर्ने उहाँको भनाई छ ।
छलफलमा सहभागीसवैलाई स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पादैं उपप्रमुख मीना पोखरेल उप्रेतीले जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार नै उत्तम उपाय रहेको बताउनुभयो । जंगलमा आहारा नपाएपछि हात्ती आहाराको खोजीमा गाउँ पसेर आतंक मच्चाउँदैं घरमा राखेको अन्नपात खाएर नष्ट पार्ने गरेको १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकीको भनाई छ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि इलामको जिर्मले—३ दुधेदेखि झापाको मेचीनगर—६ सम्म १८ किलोमिटर दुरीमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्नुअघि नेपाल छिरेका हात्ती फर्कन नपाएको र ती नै रैथाने हात्तीले रातभर स्थानीयलाई दुःख दिने गरेको प्रदेश सभा सदस्य बुडाथोकीको भनाई छ । उहाँले पछिल्लो समय ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारकै कारण मानिसको मृत्यु भएको घटना बढिरहेकाले तारवारको उचित व्यवस्थापनमा जोडदिनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले परियोजनका बारेमा जानकारी गराउनुभयो । अहिले फिल्डको स्थलगत अवलोकन गर्ने, कहाँ बाट कसरी शुरु गर्नेलगायतका विषयमा बताउदैं उहाँले तत्कालै रुट निश्चित भए तत्कालै सर्वेको काम थाल्ने बताउनुभयो । दुईवटा टोली बनाएर काम शुरु गर्ने उहााँके भनाई छ । एउटा वडाबाट अर्काे वडा वा एउटा वनबाट अर्काे सामुदायिक वनमा पुग्दा सम्बन्धित वडाका जनप्रतिनिधि र वनका पदाधिकारीहरले सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । समुदायमा आधारित मानव द्वन्द व्यवस्थापन परियोजना अन्तर्गत तारबार निर्माण गरिएको भएपनि दशकअघिदेखिको जंगली हात्तीको पीडा ज्यूँ का त्यूँ रहेको छलफलमा सहभागीहरुले गुनासो व्यक्त गरेका थिए । हात्ती आहाराको खोजीमा गाउँ पस्ने गरेको भन्दैं सहभागीहरुले हात्तीको खाद्यन्न केरा तथा बाँस जंगलमै रोप्नुपर्ने सहभागीको भनाई छ ।
छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, बुद्घशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेल, डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत युवराज मास्के, सहायक वन अधिकृत राजन राई, राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत अनिल प्रसाई,, सर्भेयर सञ्जय मिश्र, मेचीनगर ३ का वडाध्यक्षहर्कबहादुर वस्नेत, ९ का गोपाल श्रेष्ठ, ११ का सन्तोष मेचे, १३ का कृष्ण सिग्देल, १४ का शंकरप्रसाद पोखरेल, १२ का नरेन्द्र मेचे, मानव हात्ती द्वन्द व्यवस्थापन समिति बाहुनडाँगीका अध्यक्ष हरिप्रसाद उप्रेतीलगायत विभिन्न सामुदायिक वनका प्रमुख प्रतिनिधिहरुले आ आफ्नो सुझाव प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले हात्तीको समस्या दिर्घकालिनरुपमा समाधान गर्न आवश्यक पहलकदमी चाल्नुपर्नेमा जोडदिनुभएको थियो । यसअघि हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्रका एकदर्जन गौडामा अपनाइएका अनेकौ“ उपाय असफल भएपछि सरकार सोलार फेन्सिङ निर्माण गरी हात्तीलाई सीमावर्ती क्षेत्रमै रोक्ने निष्कर्षमा पुगेको थियो । छलफल कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गर्नुभएको थियो ।