Aamsanchar

नाबालक छोरालाई घाँटी थिचेर हत्या गर्ने सौतेनी आमा जेल चलान

Author Image
बिहिवार, भदौ १०, २०७८

जनकपुरधाम – नाबालक छोरालाई हत्या गरेको आरोपमा एक सौतेनी आमालाई महोत्तरी जिल्ला अदालतको आदेशअनुसार जेल चलान गरिएको छ। महोत्तरीको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी श्रीमती २० वर्षीया रागनीदेवीले पाँच वर्षीय छोरा रितेश यादवको घाँटी थिचेर हत्या गरेकी पुष्टि भएपछि अदालतले उनलाई पूर्पक्षका लागि जलेश्वर कारागारमा पठाउने आदेश दिएको हो।

रानीदेवी मृतक रितेशका सौतेनी आमा हुन्‌। ​सोही घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका बुवा चन्द्रकिशोर यादवलाई साधारण तारेखमा रिहा गरिएको छ। साउन १३ गते साँझ देखि हराई रहेको बालक रितेशको शव साउन १४ गते फेला परेको थियो। बालक हराएपछि चारैतिर खोजतलास गरिएको थियो। भोलिपल्ट बिहान घरभन्दा ५० मिटर पश्चिमतर्फ हीरा साहको फूलबामा रहेको केराको बोटनजिक बालकको शव परालले छोपेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनापछि सौतेनी आमा रागनी र बाबु चन्द्रकिशोर फरार भएका थिए। १० महिनाअघि जेठी श्रीमती हुँदाहुँदै चन्द्रकिशोरले रागनीलाई भित्र्याएका थिए। जेठी श्रीमतीले एक पाँच वर्षीय र एक अढाई वर्षीय आफ्ना दुई सन्तान ९छोरा० लाई श्रीमानकै जिम्मामा छाडेर माइती गएर बस्दै आएकी थिइन्‌।

​जेठो छोरा पाँच वर्षीय रितेशलाई घाँटी थिचेर हत्या गरेको आरोपमा सौतेनी आमा रागनीलाई प्रहरीले पक्राउ गरेको थियो।प्रहरीले रितेशका बाबुलाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषा जिल्लाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 240

प्रतिक्रिया (०)

सम्बन्धित खबर