Aamsanchar

महाकालीमा खसेर बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख दिने

Author Image
बिहिवार, भदौ १०, २०७८

काठमाडौं – सरकारले जयसिंह धामीको परिवारलाई १० लाख रूपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले तुइन तर्ने क्रममा महाकालीमा खसेर बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका धामीको परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

बैठकले बुर्तिवाङ, पौदी, अमराई, तम्घास, सन्धिखर्क, गोरुसिंगेको १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतका प्रसारण लाइनको १८ मिटरभित्र पर्ने निजी जग्गालगायत अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न गठित समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय पनि गरेको छ।

त्यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालका तर्फबाट बाणगंगा कपिलवस्तुका डा. शम्भुप्रसाद आचार्यलाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। बैठकले हैजाको खोपको क्लिनिकल परीक्षण गर्न अनुमति दिने निर्णय गरेको छ। बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र सलोनी प्रधान सिंहलाई र नेपाल कानुन आयोगको अध्यक्षमा पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी प्रवक्ता कार्कीले दिए।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर