Aamsanchar

भरतमणि सिधै फाइनलमा, पुर्व युवराज पारसको गेटअपमा यसरी दिए प्रस्तुती (भिडियो सहित)

Author Image
आइतवार, भदौ १३, २०७८

‘मैले उहाँका विगतका प्रस्तुतिहरुको बारेमा बोल्नु पर्दैन, आजको प्रस्तुतिको बारेमा यतिमात्रै भन्छु बाँकी त प्रस्तुतिमा हेरिहाल्नु हुन्छ…पूर्वयुवराज पारस शाह बनेर आउँदै हुनुहुन्छ… भरतमणि पौडेल,’ रियालिटी शो कमेडी च्याम्पियनका उद्घोषकले यति भनेपछि मञ्चमा शाहको गेटअपमा देखिन्छन् प्रतिस्पर्धी, भरतमणि पौडेल ।

अनि सुरु हुन्छ मञ्चमा रोमाञ्चक माहोल । लामो कपाल, त्यसमाथि ढाका टोपी, गलामा रुद्राक्षको माला, लामो कमिज लगाएका व्यक्ति अर्थात झलक्क हेर्दा पारस शाहजस्तै देखिने गेटअप । अनि सुरु हुन्छ–उनको उही हाउभाउका साथ प्रस्तुति । शनिबार प्रशारण भएको कमेडी च्याम्पियनको अन्तिम ४ को प्रतिस्पर्धामा पारसको गेटअपमा मञ्चको एक कुनामा बसिरहेका उनलाई कसैले भन्छ–ल जाउँ सरकार ?
उनको जवाफ हुन्छ–म किन जाने रु किन जाने ?

पारसको क्यारिकेचर गर्दै भरतमणिले यति भनेपछि दर्शकदिर्घाबाट सुरु हुन्छ, हुटिङ । त्यसपछि पारसले सन्तोष दाइ (सन्तोष पन्त) ले बोलाएर आफू जान तयार रहेको बताउँछन् भने पन्तले ‘जाउँ’ भनेपछि म्युजिक बजाउन अनुरोध गर्छन् र सुरु हुन्छ पारस शैलीको डान्स–

‘रोल्पा बक्सियोस् कि मलाई रुकुम बक्सियोस् ​, ज्यानै चढाइ दिउँला सिरिफ हुकुम बक्सियोस्’ यो गीतमा पौडेलको पारसको हाउभाउवाला डान्सबाट माहोल थप तातिन्छ । अनि थप अघि बढ्छ उनको प्रस्तुति । प्रस्तुतिका क्रममा उनले जजहरुलाई जोडेर कमेडी पस्किए । त्यसपछि पारसले मोटरसाइकलमा सवार हुँदा हेलमेट नलाएको प्रति व्यङ्ग्य पस्कियो भने राजतन्त्र, कमल थापाको पार्टीदेखि लिएर वर्तमान राजनीतिक परिस्थितिका बारेमा उनको कटाक्ष केन्द्रीत रह्यो ।

पौडेलले आफ्नो प्रस्तुतिका क्रममा व्यङ्ग्य गर्दै भने, ‘रामकुमारी झाँक्री मलाई मन पर्छ, किनभने अरुले खुट्टा तान्छ, उहाँले त हातै तानिदिन्छ ।’ यस्तै उनले बाबुराम भट्टराईलाई पनि छाडेनन्, ‘भेरि रोमान्टिक मोमेन्ट पोलिटिकल । मलाई मनपर्ने पुरुष नेता पनि हुनुहुन्छ, डाक्टर बाबुराम भट्टराई । ताक परे अब राप्रपामा आउन सक्छ, पार्टी फेरिरहन्छ । यत्रो क्रान्ति गरेर पनि फार्टी फेरिराछ ल.. ! अस्तिअस्ति उ त्यो सन्तोष थापालाई भोट मागिराथ्यो….’

त्यसपछि पत्रकार र पारसबीचको संवादका दृश्य रोचक सुनिन्छ । पारसको पत्रकारसँग प्रस्तुत हुने शैली तथा आजकालका युट्युब पत्रकारिताबारे कटाक्ष केन्द्रीत थियो । उनले आफ्नो प्रस्तुतिका क्रममा राष्ट्रभक्ति वास्तविक हुनुपर्ने सन्देश दिए भने राजतन्त्र ढलेपछिको अवस्थाबारे पनि बुझाउने प्रयास गरिएको थियो ।

प्रस्तुतिपछि सबै जजहरुबाट उनको प्रशंशा भएको थियो भने उत्कृष्ट प्रस्तुतिको आधारमा उनलाई सिधै अन्तिम ३ मा लगियो । उत्कृष्ट ४ बाट उनी बिना भोटिङ सिधै फाइनलमा प्रवेश गरेका हुन् । बाँकी ३ प्रतिस्पर्धीबाट दुई जना भने भोटिङबाट फाइनालिस्ट छानिनेछन् ।

यसअघि नै भरमणिको पारस लुक्सको ट्रेलर सार्वजनिक भएपछि चारैतिर चर्चा पाइरहेको थियो भने ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न सफल भएको छ । ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी पौडेल यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारिकेचर गरेर चर्चामा छाएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकको प्रिय बन्न सफल पौडेल उपाधिका दावेदार मानिन्छन् ।

भिडियो हेर्नुहोस्

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर