Aamsanchar

न्याय र धर्मको प्रतिक भगवान श्रीकृष्ण

Author Image
सोमवार, भदौ १४, २०७८

संसारभरका हिन्दू धर्मावलम्बी अनि श्रीकृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । अत्यन्तै चहक र अति प्रतिभाशाली–प्रभावशाली व्यक्तित्वका धनी भगवान श्रीकृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्थे । उनको मुस्कानमा हर्ष छ । मनको सौन्दर्यता र सौम्यताको अद्भूत संगमयुक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाँख सजिएको हुन्छ । गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरिएका कृष्णका पोशाकका रंगहरू बिजुली चम्किँदाको जस्तो चम्किलो हुन्छन् । उनको पैतालाका नङ्गका रगंहरूले चन्द्रमाको आभास मिल्छ

त्यस्ता व्यक्तित्वका धनी उनै श्रीकृष्णको परिचयका शृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी, दूध–दहीका घैला फुटाउने, चकचके जस्ता अनेक कार्यहरू ‘कृष्णलीला’ को पगरी गुथेर परिचित छन् । कामले बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथा र घटना वृन्दावन, मथुरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू–लोकमै चर्चित छन् । उनी सम्पूर्ण रूपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई आकर्षण गर्न सक्ने दिव्य व्यक्तिका रूपमा अझै पनि चर्चित छन्

गोविन्द, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर आदि थुप्रै नामबाट पुकारिन्छन् । यिनै कृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रूपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ

भगवान श्रीकृष्णको नामसँगै राधाको नाम पनि बडो आस्थाका साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरू संसारभरि धेरै ठाउँमा छन् । तर राधा–कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासमा लिपिवद्ध छैन । बरू इतिहासले रुक्मिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको उल्लेख भएको पाइन्छ

कृष्ण धारावासीको कृति राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो । तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तिको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।

कृष्णका कुरा गर्दा ‘मीरा’लाई पनि इतिहासले बिर्सन खोजेको जस्तो भान हुन्छ । मीरा वास्तवमा एक गृहस्थी जीवन व्यतित गरिरहेकी महिला थिइन् । जो कृष्णको आकर्षण र अनुभूति मात्रैले पनि सम्पूर्ण कुराहरू त्यागेर कृष्णको खोजीमा निस्किइन् । मीराका भजनहरूमा र संगीतमा कृष्णमोह पाइन्छ । समर्पण र सुफी भावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।

श्रीमद् भागवत् गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन् :
‘यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्’
अर्थात् :

“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हाबी हुँदै जान्छ,
तब तब धर्म रक्षाका लागि म स्वयं यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु ।’

महाभारतमा पाण्डव र कौरवहरूबीच युद्ध हुँदा श्रीकृष्ण पाण्डव पक्षमा थिए । कौरवहरूसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डवतर्फका अर्जुन एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह (हजूरबुबा) सम्मिलित थिए । आफन्तविरूद्धको लडाईँ, हार र जीत दुवैमा निराशा । श्रीकृष्ण आफू जगत् पुरुष भएपनि अर्जुनको मनोबल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोडायुक्त रथ हाँक्ने व्यक्ति) का रूपमा युद्धमा साथ दिए । ‘काम कहिले पनि सानो ठूलो हुँदैन’ भनी अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबीचको सम्बन्धको व्याख्यालाई प्रेरणाको रूपमा उदाहरण प्रस्तुत गरेका छन् : ‘हे अर्जुन तिमी किन युद्धको परिणामकाबारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।’

एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसँग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रूपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्रीकृष्णको व्याख्या गरिँदा उनको छेउछाऊ जीवजन्तु, चराचरहरूको पनि नामका कारण जीव–जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।

श्रीमद् भागवत् गीताका अनुसार, भगवान श्रीकृष्णको जन्म, लीला र उपस्थिति एकदमै अलौकिक छ । जसले ती कुरा बुझ्न सक्छ, उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँछ । कृष्णको जन्म र भौतिक उपस्थिति हामी सामान्य मानवहरूका लागि पूर्वजन्मका कार्यको फलको रूपमा भएको छैन । आफ्ना भक्तहरूलाई आफ्नो माया–प्रेम दर्शाउन र उनीहरूलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

हामीमध्ये धेरैले कृष्ण र उनको अवतारलाई टिभी सिरियलहरूमा देखेका छौँ । उनको अवतार र कृष्ण नामको पात्र हामी मन पनि पराउँछौं । उनको सुमधूर व्यक्तित्वको परिकल्पना पनि हामी गर्छौं । तपाई चाहे जुनसुकै धर्म या समुदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रूपमा भगवान श्रीकृष्णलाई लिएर हेरौँ । उनका वाक्यहरूमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, ‘एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, युद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।’

कृष्णसम्म यो संन्देश पुग्ने हो भने उनको फेरि धर्तीमा आउने बेला भएको छ, धर्तीलाई माया चाहिएको छ ।
तिनै भगवान श्री कृष्णको जन्मदिनमा सबैलाई माया र उत्साहको शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१