Aamsanchar

८ वर्षयता निरन्तर ओरालो लागेको अलैँचीको भाउ बढेपछि किसान हर्षित

Author Image
आइतवार, भदौ २०, २०७८

पाँचथर – विगत ८ वर्षयता निरन्तर ओरालो लागेको पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन् । प्रतिमन (४० किलो) को १ लाख २० हजार रुपैयाँमा अलैंची बिक्री गरेका किसान भाउ बर्सेनि घट्दै गएपछि निराश बनेका थिए । तर यसवर्ष सिजनको सुरुवातमै भाउमा वृद्धि हुँदै जान थालेपछि किसान आशावादी बनेका हुन् ।

पाँचथर जिल्लामा अहिले अलैँची प्रतिमन ३४ देखि ३७ हजार रुपैयाँ सम्ममा कारोबार भइरहेको अलैँची व्यवसायी संघ पाँचथरका अध्यक्ष खेमनाथ अधिकारीले बताउनुभयो । गएको वर्ष यही समयमा अलैँचीको भाउ प्रतिमन २६ हजार रुपैयाँ रहेको थियो ।

भाउ बढे पनि अलैँचीमा लागेको डरुवा रोग, गानो कुहिने लगायतका रोगले यसवर्ष जिल्लामा अलैँची उत्पादनमा भने ह्रास आउने सम्भावना रहेको उहाँको भनाई रहेको छ । उत्पादनमा ह्रास आउने भएकाले माग बढ्न सक्ने र भाउ अझै बढ्न सक्ने अधिकारीको भनाई रहेको छ । अलैँचीको कारोबार हुने मुख्य सिजन असोज, कात्तिक र मंसिर महिना हो ।

उचित मूल्यको पर्खाइमा रहेका किसानको अलैँची घरमै थन्किएको छ । गएको वर्षको तुलनामा भाउ बढ्दै गएपछि किसानमा केही आशा पलाएको फालेलुङका अलैँची किसान यामबहादुर लिम्बू बताउनुहुन्छ । उचित मूल्य पाउने आशामा किसानले तीनरचार वर्षदेखि अलैँचीलाई गोदाममा थन्काएर राखेका छन् ।

अलैँची विकास केन्द्र फिक्कल इलामका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा ४ हजार १ सय ५० हेक्टरमा अलैँची खेती हुने गर्दछ । जुन नेपालमै सबैभन्दा धेरै हो । यस्तै पाँचथरमा १ हजार ७ सय ३७ र इलाममा १ हजार २ सय हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ । नेपालको अलैँची भारत हुँदै तेस्रो देशसम्म निर्यात हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर