Aamsanchar

धरानस्थित बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन मन्त्रालयको अनुरोध

Author Image
आइतवार, भदौ २७, २०७८

काठमाडौं –स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन अनुरोध गरेको छ। मन्त्रालयले आन्दोलनरत पक्षका केही माग पूरा भएको र केही पूरा हुने क्रममा रहेको भन्दै प्रतिष्ठानका आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा बुँदागत रूपमा आन्दोलनकारीका माग र तिनको अवस्थाबारे उल्लेख छ। ‘पदाधिकारी कारबाही प्रक्रिया अघि बढेको छ, पदाधिकारी नियुक्तिको मापदण्ड तयार हुने क्रममा छ। भ्रष्टाचारको विषय अख्तियारको छानविनको क्रममा छ । रजिष्टारको राजिनामा स्वीकृत भईसकेको छ, उपकुलपतिको प्राध्यापक पद नभएको पुष्टि भएकोले कानुनअनुसार थप प्रक्रिया अघि बढाइसकेको छ,’ ‘कोभिड महामारीको यो अवस्थालाई विचार गर्दै नियमित काममा फर्किनुहोला ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीले पूर्व-सम्झौताअनुसार आफ्ना माग पूरा नभएको भन्दै गत २० भदौदेखि आन्दोलन गर्दै आएका छन्। उनीहरूले इमरजेन्सी, कोभिड र पूर्व(निर्धारित परीक्षाबाहेक सबै सेवा अवरुद्ध गरेका छन्।

Views: 390

प्रतिक्रिया (०)

सम्बन्धित खबर