Aamsanchar

सशस्त्रले पिछा गरिरहेको चाल पाएपछि तस्करीमा संलग्न गाँजा र मोटरसाइकल छाडेर फरार

Author Image
बुधवार, भदौ ३०, २०७८

विराटनगर – लागुऔषध गाँजाको तस्करीमा संलग्न रहेकाहरु विराटनगर महानगरपालिका–१८ झटियाइमा गाँजा र मोटरसाइकल छाडेर फरार बनेका छन्। सशस्त्र प्रहरीको टोलीले पिछा गरिरहेको चाल पाएपछि गाँजा र मोटरसाइकल छाडेर तस्करीको धन्दा चलाउनेहरु फरार बनेका हुन्।

फरार भएकाको पहिचान खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल बीओपी जहदाबाट खटिएको टोलीले विराटनगरको झटियाइबाट जतुवातर्फ जाँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो पिछा गरेको थियो।

गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन टोली खटाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए। उनका अनुसार सशस्त्रलाई देख्नसाथ गाँजा तस्कर फरार बनेका थिए। तर फरार बनेकाले छाडेको मोटरसाइकल र ९ किलो गाँजा भने बरामद गरिएको जानकारी पौडेलले दिए।

‘रोक्ने क्रममा मोटरसाइकल र गाँजा छाडेर लागुऔषधको अवैध धन्दामा संलग्नहरु फरार बने’, उनले भने, ‘मोटरसाइकलसहित त्यहाँ रहेको जेब्रा झोलाभित्र प्लाष्टिकमा प्याक गरेर राखिएको अवस्थामा ९ किलोग्राम गाँजा बरामद गरिएको छ।’ बरामद गरिएको मोटरसाइकल र गाँजा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको एसपी पौडेलले बताए।

उनका अनुसार गाँजा तस्करीमा संलग्नको खोजी तीव्र पारिएको छ। पूर्वी नेपालको पहाडी जिल्लामा उत्पादन हुने गाँजा लागुऔषधको कारोबारमा संलग्न रहेकाहरुले सीमा कटाएर भारततिर तस्करी गर्ने गरेका छन्। बरामद भएको गाँजा पनि भारततिरै लग्ने प्रयास गरिएको सशस्त्रले जनाएको छ।

प्रहरी स्रोतका अनुसार गाँजा नेपालमा २० हजार रूपैयाँ प्रतिकिलो किनबेच हुन्छ। त्यही गाँजा भारत पुर्‍याउँदा प्रतिकिलो ४० हजार रूपैयाँमा किनबेच हुने गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दोब्बर मूल्य पाउने भएपछि लागुऔषधको अवैध धन्दामा लागेकाले नेपालबाट भारततिर गाँजाको तस्करी गर्ने गरेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर