Aamsanchar

संखुवासभा हत्या काण्डको अनुसन्धान जारी, लोकबहादुरका भाइ नरेशलाई सदरमुकाम ल्याइयो

Author Image
शुक्रवार, असोज १, २०७८

संखुवासभा- संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनामा प्रहरीले अनुसन्धान जारी राखेको छ । अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई जिल्ला सदरमुकाममा ल्याएका छन् ।

लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी अरुण बिसीले बताए । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

मोबाइल बरामद गरेपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिररहेको छ । ‘हत्यापछि रञ्जनाको मोबाइल नरेशले कसरी पाए भन्नेबारे अनुसन्धान गर्दैछौं’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीसँग भने, ‘लोकबहादुरले घरमा लगेर लुकाएको र नरेशले भेटेर चलाएको वा नरेश आफैंले लगे भन्ने खुल्न बाँकी छ ।’

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की,आमा पार्वती कार्की,श्रीमती कमला,बुहारी ३२ वर्षीया रञ्जना कार्की,८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो । हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर,सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

तेजबहादुर र परिवारका अन्य ५ जनालाई चिर्पटले हानेर हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले  बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर