

झापा – धारिलो हतियार(दाउ)ले काटेर एक भारतीय महिलालाई टुक्रा–टुक्रा पारी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारत विहार राज्य किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत निवासी २३ वर्षीय ऐतवार सोरेन, झापा गाउँपालिका १ निवासी ३७ वर्षीय लखन टुडु, सोही ठाउँका ५६ वर्षीय सिरी साइँला भन्ने सोमाई हेमरम र २७ वर्षीय श्री हेमरम रहेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।
पक्राउ परेका चारै जनालाई बुधवार प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । घटनामा संलग्न मृतकका देवर किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ४५ वर्षीय मण्डल हेमरम फरार रहेका छन् ।
प्रहरीका अनुसार गत भदौ २५ दिउँसो साढे १२ बजे झापा गाउँपालिका १ स्थित सानो माई खोलामा नाम थर वतन नखुलेको एक महिलाको टाउको, घाटी, पेट (कम्मर भन्दा माथिको भाग) तथा घुँडा भन्दा मुनीको भाग नभएको शव फेला परेको थियो ।
घटनाको प्रकृति हेर्दा हत्या गरी फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएपछि महिलाको पहिचानका लागि प्रहरी टोली परिचालन गर्यो । शव भेटिएको ५ दिनपछि अर्थात् भदौ ३१ गते एक भारतीय महिलाको हत्या गरिएको कुरा प्रहरी समक्ष जानकारी आयो ।
हत्या गरिएका महिला झापा गाउँपालिका १ माइती घर भई हाल किशनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने अन्दाजी ५५ वर्षीय डोली भन्ने धोन्नी टुडु भन्ने पहिचान खुलेको एसपी भट्टराईले बताए । प्रहरीले घटनाको अनुसन्धान गर्दै जाँदा हत्यामा संलग्न व्यक्तिको पहिचान गर्दै उनीहरूलाई पक्राउ गरिएको एसपी भट्टराईको भनाई छ । मृतक डोलीको सन्तान नभएको र उनको श्रीमानको १५ दिन अघि मात्र मृत्यु भएको थियो । मृतक महिलाको सौता रहेकोले सौताले विभिन्न आरोप लगाई हेला गर्ने गरेको र बोक्सीको आरोप लगाउँदै आएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । ‘मृतक र उनका देवरसँग जग्गा सम्बन्धी घरायसी विवाद थियो,’ उनले भने, ‘मृतक डोलीलाई अंशबन्डा नदिने योजना बनाएर हत्या गरिएको देखिन्छ ।’ हत्या घटनामा मृतक महिलाकी सौताकी भाइ लखन, भान्जा ऐतवार र देवर मण्डल प्रत्यक्ष संलग्न देखिएको उनले बताए । यता पक्राउ परेका चारै जनालाई झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनको भनाई छ ।

