

धनगढी । पूर्वमा क्यान्सर अस्पताल खोलेर उदारणिय बनेका व्यावसायी दुर्गा प्रसाईंले पस्चिमका जनतालाई सेवा पुग्ने गरी धनगढीमा पनि क्यान्सर अस्पताल खोल्ने भएका छन् ।

मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा पूर्वाञ्चल क्यान्सर अस्पतालका सञ्चालकसमेत रहेका प्रसाईंले धनगढीमा क्यान्सर अस्पताल खोल्ले घोषणा गरेका हुँन ।
धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने यो क्षेत्रका आफ्ना साथीहरुको प्रस्ताव आएपछि अस्पतालको सम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएको प्रसाईंले बताएका छन् ।

झापामा सुविधासम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएपछि काठमाण्डौं र सुदूरपश्चिममा पनि सुविधासम्पन्न अत्याधुनिक क्यान्सर अस्पताल खोल्ने आफ्नो योजना रहेको उनले बताए। झापामा सञ्चालनमा रहेको अस्पताल दक्षिण पूर्वी एशियाकै अत्याधुनिक सुविधासम्पन्न अस्पताल भएको प्रसाईंको दावी रहेको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमै रहेको अर्को सुविधा सम्पन्न अस्पताल बिएण्डसी अस्पतालमा उपचार गर्न आउने सुदूरपश्चिमका बिरामीहरूको उपचार खर्चमा २० प्रतिशत छुट दिने पनि प्रसाईंले घोषणा गरेका छन् ।
अस्पताल सञ्चालनका लागि सकारात्मक सहयोग र सद्भाव प्राप्त भए अन्य क्षेत्रमा पनि लगानी गर्न आफू तयार रहेको उनको भनाई रहेको छ । अस्पताल निर्माण र सञ्चालनका लागि उपयुक्त ठाउँमा जग्गाको खोजी भइरहेको उनले बताए।
काम गर्ने र लगानी गर्ने वातावरण निर्माण भए ठूलो संख्यामा विदेशीने युवालाई रोक्न सकिने भएपनि लगानी मैत्री वातावरण बन्न नसक्दा युवा पलायन भइरहेको प्रसाईंले बताए। सुदूरपश्चिममा अस्पताल निर्माण र सञ्चालनका लागि सकारात्मक वातावरण निर्माण गर्न प्रसाईंले सबैमा अनुरोध गरेका छन्।

