Aamsanchar

मोरङका राजनीतिक दलको सामूहिक प्रतिबद्धता, शिक्षकलाई दलको झण्डा र झोला बोकाएर नहिंडाउने

Author Image
शुक्रवार, असोज ८, २०७८

विराटनगर। सामुदायिक विद्यालयको सुधार र विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिवद्धतामा सहमति जनाएका छन् ।

विराटनगरमा शुक्रबार (आज) प्रेस संगठन मोरङले आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका’ विषयक अन्तरक्रियामा दलहरुले विद्यालय सुधारका तयार पारिएको १० बुँदे प्रतिबद्धताप्रति सहमति जनाएका हुन् ।

प्रतिबद्धतामा राजनीतिक दलले शिक्षकलाई आफ्नो दलको कार्यकर्ता नबनाउने, शिक्षकका संगठनलाई आफ्नो दलको भातृ संगठन नबनाउने, शिक्षकलाई दलको झण्डा र झोला बोकाएर नहिंडाउने, राजनीतिक दलको सदस्यता लिएर आफ्नो कर्तव्य पुरा नगर्ने शिक्षकलाई संरक्षण नगर्ने उल्लेख छ ।

यस्तै दलहरुले सामुदायिक विद्यालयलाई राजनीतिक परेड खेल्ने अखडा नबनाउने र अनावश्यक रुपमा विद्यालयमा हस्तक्षेप नगर्ने, शिक्षक सरुवा, प्रधानाध्यापक तथा व्यवस्थापन समिति छनौट लगायतका कार्यमा राजनीतिक हस्तक्षेप नगर्ने पनि प्रतिबद्धता जाहेर गरिएको छ । ‘विद्यालयका कक्षाकोठा र प्राङ्गणलाई राजनीतिक कार्यक्रम, सभा सम्मेलन गर्ने थलो बनाउने छैनौं,’ प्रतिबद्धतामा उल्लेख छ, ‘विद्यालयलाई राजनीतिक हस्तक्षेप र वातावरणबाट टाढा राख्ने कुरामा प्रतिवद्ध रहनेछौं ।’

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट केदार कार्की, दीपक चापागाईं, नेकपा एमालेका तर्फबाट रुपेश खतिवडा, मिनप्रसाद आचार्य, नेकपा माओवादी केन्द्रका तर्फबाट गणेश उप्रेती, भोगेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका तर्फबाट राजन केसी र वसिम आलम, जनता समाजवादीका तर्फबाट अमृत महतो, साझा विवेकशीलका कमलेश कर्ण र भुपाल थापा, राप्रपाका माधव आचार्यलगायतका जिल्ला र विराटनगरस्तरका नेताहरुको सहभागीता थियो । छलफलमा वृहत राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले सामुदायिक विद्यालयको वर्तमान अवस्था र त्यसमा राजनीतिक दलहरुले खेल्नुपर्ने भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेको प्रेस संगठन मोरङका संयोजक अर्जुन आचार्यले बताए । कार्यपत्र प्रस्तुत गरेपछि दलहरुले मन्तव्य राख्दै शिक्षा क्षेत्र सुधारका लागि अभियान संचालन गर्न ढिलो भइसकेको बताएका थिए ।

दलहरुले गरेको सामूहिक प्रतिबद्धताका बुँदाहरु :
१. हामी राजनीतिक दलले शिक्षकलाई आफ्नो दलको कार्यकर्ता बनाउने छैनौं । शिक्षकका संगठनलाई आफ्नो दलको भातृ संगठन बनाउने छैनौ ं। शिक्षकलाई दलको झण्डा र झोला बोकाएर हिंडाउने छैनौं । राजनीतिक दलको सदस्यता लिएर आफ्नो कर्तव्य पुरा नगर्ने शिक्षकलाई संरक्षण गर्ने छैनौं ।
२. हामी दलहरुले सामुदायिक विद्यालयलाई राजनीतिक परेड खेल्ने अखडा बनाउने छैनौं । अनावश्यक रुपमा विद्यालयमा हस्तक्षेप बढाउने छैनौं । शिक्षक सरुवा, प्रधानाध्यापक तथा व्यवस्थापन समिति छनौट लगायतका कार्यमा राजनीतिक हस्तक्षेप गर्ने छैनौं ।
३. विद्यालयका कक्षाकोठा र प्राङ्गणलाई राजनीतिक कार्यक्रम, सभा सम्मेलन गर्ने थलो बनाउने छैनौं । विद्यालयलाई राजनीतिक हस्तक्षेप र वातावरणबाट टाढा राख्ने कुरामा प्रतिवद्ध रहनेछौं ।
४. विद्यालय शान्ति क्षेत्रलाई सम्मान गर्ने छौं । राजनीतिक लक्षका कुनै पनि विरोध, आन्दोलन लगायतका कार्यक्रममा विद्यालय बन्द गर्ने छैनौं । बालबालिकाले शान्त र भयरहित वातावरणमा पढ्न पाउने वातावरण सृजना गर्ने कुरामा प्रतिवद्ध रहनेछौं ।
५. भौतिक विकासलाई मात्र विकास मान्ने छैनौं । शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो भन्ने मानसिकताको विकास गर्दै शिक्षामा लगानी बढाउन प्रयासरत रहनेछौं ।
६. शिक्षक सामाजिक रुपान्तरणका अगुवा तथा नाइके हुन् भन्ने कुरालाई मनन गर्दै शिक्षकलाई सम्मानजनक व्यवहार गर्ने कुरामा प्रतिवद्ध रहनेछौं ।
७. अभिभावक साक्षरता, सचेतना लगायत सामाजिक जागरण तथा रुपान्तरण कार्यक्रममा भूमिका बढाउने छौं । अभिभावकको आर्थिक सामाजिक स्तर बढ्यो भने सामुदायिक विद्यालयको स्तर वृद्धि हुनेछ भन्ने कुरालाई मनन गरेर काम गर्नेछौं ।
८. विद्यालयलाई आवश्यक पर्ने विभिन्न स्रोत व्यवस्थापन, भौतिक सुधार लगायतका विषयमा आफूले सकेको सहयोग गर्नेछौं ।
९. विद्यालयमा उत्पादन तथा उद्यमशीलता कार्यक्रममा सहजीकरण गर्ने छौं । अभिभावकको सीप, उद्ध्यमशीलता तथा आर्थिक हैसियतको विकासका लागि विभिन्न कार्यक्रम संचालन गर्न प्रयत्न गर्नेछौं ।
१०. राष्ट्र निर्माणको मुख्य नीति नै राजनीति भएकोले आफ्नो दलगत वा गुटगत स्वार्थभन्दा माथि उठेर विद्यालयको सुधार र विकासका लागि काम गर्नेछौं ।

कार्यपत्रमा उल्लेखित विषयहरु उठाइएको थियो
सामुदायिक विद्यालयको सुधार तथा विकासका लागि राजनीतिक दलको भूमिका !
वृहत राष्ट्रिय शिक्षा अभियान के हो?
वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको समग्र शिक्षामा रुपान्तरण गर्ने लक्षका साथ् संचालित अभियान हो । शिक्षा कुनै पनि राज्यको पहिलो प्राथमिकता हुनु पर्दछ । शिक्षा र स्वास्थ्यमा व्यापक सुधार नगरिकन कुनै पनि राष्ट्र सम्वृद्ध हुन सकेको उदाहरण नै छैन । शिक्षालाई सम्वृद्धिसंग कसरी जोड्ने, उत्पादन र आत्मनिर्भरतासंग कसरी जोड्ने, जीवन पद्धति र व्यवहारसँग कसरी जोड्ने, आचरण र चरित्र निर्माण संग कसरी जोड्ने, विज्ञान÷प्रविधि र नव प्रवर्तनसंग कसरी जोड्ने, अनुसन्धान र आविष्कारसंग कसरी जोड्ने? यी विविध विषय अभियानका मुख्य सरोकारका विषय हुन् ।
सबै विद्यालय र विश्वविध्यालयको समतामुलक सुधार र रुपान्तरण, कुल बजेटको २० प्रतिशतको सुनिस्चितता, नतिजामुखी, जिम्मेवार र क्षमतावान नेतृत्व तथा प्रशासन लगायत हाम्रा एजेन्डा हुन् । परीक्षा प्रणाली, पाठ्यक्रम, सिकाइ पद्धति लगायतको सुधार हामीले बहस गर्दै गरेका विषय हुन् ।

अभियानले के कस्ता गतिविधि गरिरहेको छ ?
हामीले आफैं जोडिएर प्रत्येक्ष विद्यालय नै सुधार गर्ने भन्दा पनि नीतिगत तहमा सामुदायिक विद्यालय सुधारका लागि दबाव दिने गरी अभियान सुरु गरेका हौँ । तर, दबाव दिन पनि त पहिले आफूले गरेर देखाएको छ भने बोल्ने नैतिक आधार हुन्छ भनेर हामीले पाइलटिङ्गका रुपमा करिब बन्द हुने अवस्थामा पुगेका केही विद्यालयमा सुधारको काम गरिरहेका छौं । यी बाहेक देशै भर विभिन्न स्थानीय तहसंग सहकार्य गरेर १०० बढी विद्यालयमा सुधारको काम भइरहेको छ । हरेक वर्ष १०० ओटा कमजोर अवस्थाका विद्यालयलाई सुधार गरेर जाने हाम्रो योजना छ ।

विद्यार्थी र अभिभावकले के कस्तो परिवर्तन भएको महसुस गरेका छन् ? देखिने गरी के कस्ता परिवर्तन भएका छन् ?
अभियानले सुधारको काम सुरु गरेका विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै बढेको छ । अभिभावकमा सामुदायिक विद्यालय राम्रा र उत्कृष्ट हुँदैछन् भनेर आशा जागेको छ । विद्यार्थीमा उत्साह जागेको छ । एक प्रकारले भन्ने हो भन्ने सामुदायिक विद्यालय कहिले पनि सुधार हुँदैनन् भन्ने भ्रम चिरिएको छ । जस्तो सुकै अवस्थाको सामुदायिक विद्यालयलाई पनि सुधार गर्न सकिने रहेछ भन्ने डक्ट्रिन स्थापित भएको छ । यो कुराको अनुभूति अभिभावक र बालबालिकामा मात्र होइन, नीतिगत तहका नेता, कर्मचारी, शिक्षा मन्त्रालयका उच्च कर्मचारी सबैमा आशा अङ्कुरित भएको छ । शिक्षकमा गर्दा हुने रहेछ भन्ने आत्मविश्वास पैदा भएको छ । हामी प्रत्येक्ष्य जोडिएका विद्यालयमा सबैले अनुभूति गर्ने गरी सुधारका काम भएका छन् । हामीले गरेका हरेक गतिविधि सामाजिक संजाल मार्फत सम्प्रेषण गर्ने गरेका कारण यसको अप्रत्यक्ष असर देशभरिका हजारौं विद्यालयमा परेको छ । धेरै प्रधानाध्यापक र शिक्षकले हाम्रा गतिविधिलाई नियालिरहनु भएको छ । सकारात्मक पहल र कदमलाई आफ्नो विद्यालयमा अनुशरण गर्नुभएको छ ।

वृहत राष्ट्रिय शिक्षा अभियान किन सुरु भयो ? देशमा के कस्ता शैक्षिक समस्या छन् ?
शिक्षामा सुधार नगरी कुनै पनि देशको विकास भएको छैन । नेपालको आर्थिक सामाजिक विकासको अवस्थालाई हेर्ने हो भने हाम्रो शैक्षिक प्रणाली नै असफल हो भन्ने पुष्टि हुन्छ । यसका केही कारण छन् । हाम्रा राजनीतिक दलले चुनावी घोषणापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखे पनि व्यवहारमा गैर जिम्मेवार छन् । शिक्षक र शिक्षालयलाई राजनीतिक अखडा बनाएका छन् । चुनाव जितेर सरकार बनाएका दलले पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कम्तिमा २० प्रतिशत हुनु पर्नेमा त्यसको आधी मात्र मुस्कीलले छुट्ट्याउने गरेका छन् । यस कारण सामुदायिक विद्यालय चरम आर्थिक संकटमा देखिन्छन् । बाल कक्षा देखि विश्वविद्यालय तहसम्म शिक्षक÷प्राध्यापकको अभाव छ । आवश्यक न्यूनतम भौतिक पूर्वाधार नभएका शिक्षालयको संख्या कहालीलाग्दो छ ।
हाल स्थानीय तहलाई माध्यमिक शिक्षाको व्यवस्थापनको जिम्मेवारी संविधानले दिए पनि संघीय सरकारको संरचना र कार्यशैली उल्टो छ । जनप्रतिनिधिले शैक्षिक सुधारका नाममा आफ्ना मान्छे च्याप्ने, फरक विचार राख्नेलाई प्रतिशोध साँध्ने, राजनीतिक परेड गर्ने मैदान बनाए । अहिलेको शिक्षा शाखाका प्रमुखलाई पहिलेको स्रोत व्यक्ति सरह खटाइएको छ । अर्थात, स्थानीय तहमा भएका शैक्षिक प्रशासनबाट शैक्षिक सुधार सम्भव छैन । हामीले नेपालका ८० प्रतिशत भन्दा बढी सामुदायिक विद्यालयका प्रधानाध्यापक एक्काइसौँ शताव्दीका विद्यालयको नेतृत्व गर्न सक्दैनन् भन्दै आएका छौं । प्रधानाध्यापकको छनौट प्रक्रिया गलत छ । व्यवहारिक रुपमा भन्ने हो भने प्रोत्साहन र कारवाही गर्न सक्ने अधिकार मन्त्रीसंग पनि छैन । जस्तो चलेको छ, त्यसलाई टुलुटुलु हेर्ने बाहेक नियमन निकायले गर्दैनन् । अनुगमनका लागि विद्यालय पुग्दैनन् । पुगिहाले पनि आवश्यक कारवाही अघि बढाउन सक्दैनन् ।

यसबाहेक पाठ्यक्रम, परीक्षा प्रणाली, शिक्षण सिकाई गतिविधि लगायत सबैमा व्यापक सुधार गर्नु पर्ने अवस्था छ । शैक्षिक बेरोजगारी डरलाग्दो गरी बढ्दैछ । गरेर खाने सीप, रोजगार, उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तन, जीवनोपयोगी सीप, आचरण निर्माण जस्ता कुरामा हाम्रो शिक्षा पछि परेको देखिन्छ ।
नेपालमा कयौं थरिका शिक्षक कर्मचारी छन् । आयोग नखुलेको वर्षौं भयो । शिक्षकले समयसापेक्ष विकास गर्न सक्नु भएको छैन । केही दिन अगाडि विज्ञान पढाउने शिक्षकले “साइन्स“ को स्पेलिंग भन्न नजानेको कुरा सामाजिक संजालमा भाइरल भएको थियो । यसले शिक्षकको वास्तविक धारतल उजागर गर्दछ । शिक्षकको क्षमता विकासका लागि सरकारले धेरै लगानी गर्नु पर्ने अवस्था छ ।
सामुदायिक विद्यालयका अभिभावकको चेतना स्तरमा केही समस्या देखिन्छ । अशिक्षित तथा निम्न आयस्तर भएका कारणले बालबालिकाको विकासका लागि यथोचित ध्यान दिन नसक्ने अवाथामा छन् अभिभावक । शिक्षाको स्तरलाई उकास्ने हो भने अभिभावक शिक्षालाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने स्थिति छ ।

अभियानका लक्ष तथा उद्ध्येश्य के हुन् ?
अभियानको लक्ष नै समग्र शिक्षामा रुपान्तरण हो । यद्यपि यसका लागि अभियानले केही निश्चित एजेन्डा लिएर शैक्षिक सुधारको आन्दोलनका रुपमा अगाडि बढेको छ. अभियानले उठाउँदै आएका शैक्षिक सुधारका केही मागहरु यस प्रकार छन् ।

अभियानका मुद्धाहरुः
१. शिक्षा नीति २०७६ परिमार्जन र पुनर्लेखन गरियोस,
२. संघीय शिक्षा नियमावली जारी गरियोस,
३. अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप शिक्षामा २० प्रतिशत लगानी सुनिश्चित गरियोस । प्रत्येक सामुदायिक विद्यालयलाई आवश्यकता अनुसार वार्षिक कम्तीमा १५ देखि २५ लाख रुपैयाँसम्म विद्यालय विकास अनुदान दिइयोस क्ष्अनिवार्य तथा निशुल्क शिक्षालाई व्यवहारसः पालना गरियोस !
४. शिक्षकका राजनीतिक दल आवद्ध संघ÷संगठन खारेज गरियोस ।
५. शक्तिशाली र अधिकारसम्पन्न सामुदायिक विद्यालय रुपान्तरण आयोग गठन गरियोस । उक्त आयोग अन्तर्गत सामुदायिक विद्यालयका हरेक पक्षको सुधार र विकासका योजना निर्माण गर्ने तथा कार्यान्वयन गर्ने आर्थिक निर्णयको स्वायत्त अधिकार सुनिस्चित गरियोस !
६. विशेष सेवा सुविधा र अधिकारयुक्त ५ वर्षे करार अवधीको प्रावधानसहित प्रधानाध्यापकको छुट्टै पद सृजना गरियोस ।
७. कार्यसम्पादनका आधारमा बढुवा, पुरष्कृत वा सेवाबाट निष्कासनसहितको कारवाही हुने गरी क्षमतावान शिक्षक नियुक्त गरियोस । हरेक पांच वर्षमा आवधिक परीक्षाको व्यवस्था गरियोस ।
८. शिक्षकको तलबमान सबैभन्दा उच्च कायम गरियोस । आधारभूत र बालकक्षाको पुनर्संरचना गरी सबैभन्दा क्षमतावान शिक्षक नियुक्त गरियोस । यो तहमा उत्कृष्ट सेवा सुविधा प्रदान गरियोस !
९. प्रत्येक दश वर्षमा अनिवार्य रुपमा पाठ्यक्रम परिवर्तन गरियोस !
१०. ३ घन्टे परीक्षालाई क्रमशः हटाउँदै निर्माणात्मक तथा सुधारात्मक निरन्तर मुल्यांकन प्रणाली अवलम्बन गरियोस ।
११. शिक्षकको पेशागत तथा क्षमता विकासका लागि नियमित तालिम, कार्यशाला आयोजना गरियोस ।
१२. विश्व विद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरियोस ।
१३. विश्व विद्यालय शिक्षा अन्तर्गत सामान्य र प्राविधिक दुवै धारका विद्यार्थीले समकक्षताका आधारमा निश्चित मापदण्ड सहित फ्याकल्टी परिवर्तन गर्न सक्ने अवस्था सृजना गरियोस ।
१४. विश्व विद्यालय तहका परीक्षा विद्यार्थीले रोजेको भाषामा दिने अवस्था सृजना गरियोस । नेपाली भाषामा प्रश्न सोध्ने प्रावधान गरियोस !
१५. विश्व विद्यालय अनुदान आयोगलाई सक्रीय बनाई अनुसन्धानमा संलग्न विद्यार्थीलाई आवश्यक आर्थिक अनुदानको व्यवस्था गरियोस !
१६. प्रत्येक प्रदेशमा प्राविधिक महा– विद्यालयको स्थापना गरियोस !

अभियानले हाल गर्दै आएका गतिविधि र आगामी कार्ययोजना के हुन् ?
निश्चित लक्ष प्राप्तिका लागि अभियानले अहिले दुई ढंगबाट आफ्ना कार्यक्रम अगाडि बढाएको छः
१. नीतिगत रुपान्तरणका लागि बहस पैरवी
२. जीर्ण अवस्थाका विद्यालयको सुधार कार्यक्रम
यी दुवै गतिविधिका लागि अभियानले हाल निम्न कार्यक्रम संचालन गर्दै आएको छ;
१. स्थानीय तहसंगको सहकार्यमा पालिकाभारिका सबै विद्यालयको स्थलगत भ्रमण, अध्ययन तथा सुधार योजना निर्माण,
२. स्थानीय तहसँगको सहकार्यमा नगर शैक्षिक सम्मेलन, सबै प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि, सरोकारवाला सबैको उपस्थिति र हस्ताक्षरमा सामुदायिक विद्यालय सुधारको लागि प्रतिवद्धता पत्र निर्माण,
३. सामुदायिक विद्यालयका प्रधानाध्यापकका लागि क्षमता विकास तालिम, शिक्षकको पेशागत विकास तथा विषयगत तालिम,
४. शिक्षकका लागि उत्प्रेरणात्मक तालिम,
५. अभिभावक सचेतना तथा अभिमुखीकरण कार्यक्रम,
६. विद्यार्थीको सर्वाङ्गीण विकास तथा क्षमता विकास लक्षित विभिन्न कार्यक्रम,
७. बन्द हुन लागेको विद्यालय छानेर उक्त विद्यालयको सुधार र विकासका लागि आवश्यक पर्ने सबै खाले पहल कदमी ।
आगामी दिनका प्रस्तावित कार्यक्रम
१. सबै प्रदेशमा मेयर सम्मेलन
२. सबै स्थानीय तहका शिक्षा शाखा प्रमुखसंग प्रदेशगत रुपमा छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम
३. सबै ३०,००० बढी सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई भौतिक तथा डिजिटल माध्यमबाट नेतृत्व विकास तालिममा सहभागी गराउने,
४. “हामी बनाउछौं, हाम्रो विद्यालय“ नामक सामुदायिक विद्यालय सुधारको नेपालकै ठुलो प्रतियोगिता आयोजना गर्ने; उक्त प्रतियोगिता कम्तीमा पांच वर्षसम्म हरेक वर्ष आयोजना गर्ने
५. देशभरि हरेक स्थानीय तहमा जीर्ण विद्यालय सुधार कार्यक्रम आयोजना गर्ने
सामुदायिक विद्यालय किन खस्किए ?
१. शिक्षकलाई राजनीतिक कार्यकर्ताको रुपमा विभिन्न दलले प्रयोग गर्नु,
२. राजनीतिक दलको कार्यकर्ता बनेपछि शिक्षकले बढी समय राजनीति र कम समय स्कुललाई दिनु, खराब आचरण भएका शिक्षकलाई दण्ड तथा लगनशील र उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षकलाई पुरष्कार सम्मानको व्यवस्था नहुनु,
३.झन्डै दुई दशक लामो समय सम्म शिक्षा सेवा आयोग नखुल्नु, त्यही बहानामा विद्यालय राजनीतिक कार्यकर्ता तथा पहुँचवालाको भर्तीकेन्द्र हुनु,
४. सरकारले लामो समयसम्म अस्थाई शिक्षक समस्या समाधान गर्न नसक्नु, विभिन्न आन्दोलन र संघर्षका नाममा स्कुलमा पढाइ नहुनु,
५. जनयुद्ध, राजनीतिक संघर्ष, राजनीतिक मागका नाममा बन्द÷हड्ताल भन्दै विभिन्न समुहले स्कुल बन्द गरिरहनु,
६. अस्पष्ट शिक्षा नीति र कार्यदिशाको अभाव, पचास वर्ष पुरानो नीतिकै ढर्रामा शिक्षा प्रणाली संचालन हुनु, नयाँ शिक्षा नीति कुहिरोको काग हुनु,
७. शिक्षा क्षेत्रमा नयाँ सोच र उत्कृष्ट कार्यक्षमता भएका युवा जनशक्ति आकर्षित गर्न नसक्नु,
८. शिक्षाको अधिकार प्राप्त गरेको स्थानिय तह शैक्षिक सुधारका विषयमा उदासीन हुनु, केन्द्रले स्थानिय तहको संविधान प्रदत्त अधिकार खोस्नु…

यसकारण अहिलेका प्रअले सामुदायिक विद्यालय सुधार गर्न सक्दैनन् !
१.सामुदायिक विद्यालयका अधिकांश प्रअ क्षमताले भन्दा पनि राजनीतिक पहूँच, चिनजान तथा भनसुनका आधारमा बनेका छन् । अधिकांश प्रअ स्थानीय नेताका कठपुतली बनेका छन् । विद्यालयमा अनावश्यक राजनीति घुसाउने यिनै प्रअ हुन् ।
२.सामुदायिक विद्यालयका अधिकांश प्रअ पुरातन शैली र सोचका छन् । समयअनुसार आफूलाई परिमार्जन गर्न सकेका छैनन् । धेरैले कम्प्युटर खोल्न बन्द गर्नसमेत जान्दैनन् । इमेल र इन्टरनेट तथा अन्य डिजिटल प्रयोग ९५ प्रतिशत प्रअ असम्भव नै ठान्दछन् ।
३. अधिकांश प्रअ अवकास हुने उमेरका छन् । २०–३० वर्ष अगाडिदेखि प्रअ चलाउँदै आएका र केही गरौँ भन्ने जोश जाँगर मरिसकेको अवस्थामा छन् ।
४. अधिकांश प्रअसंग विद्यालय विकास तथा सुधारको स्पष्ट सपना नै छैन । परिकल्पना नै गर्न सक्दैनन् । खाका बनाउन जान्दैनन् । कतिपय प्रअले विद्यालय सुधारको योजना त परे जाओस, आफ्नै कपडा पनि सही ढंगले लगाउन जान्दैनन् । यो व्यवस्थापकीय कमजोरीको लक्षण हो ।
५.सामुदायिक विद्यालयका प्रअसंग शैक्षिक व्यवस्थापन तथा नेतृत्व क्षमता छैन । सपना देख्ने, योजना बनाउने, समूह विभाजन तथा परिचालन गर्ने, निरीक्षण गर्ने, स्रोत व्यवस्थापन गर्ने, समन्वय गर्ने जस्ता कुनै पनि क्षमता छैनन् ।

६. अधिकांश प्रअले विद्यालयको समग्र शैक्षिक व्यवस्थापकीय नेतृत्व भन्दा कार्यालय सहयोगीको काम बढी गरिरहेका हुन्छन् । झोला बोकेर स्थानीय तह धाउने, घन्टौं गफमा भुलिने, काम पनि नहुने तथा फुर्सद पनि नहुने अवस्थामा भेटिन्छन् ।
७. अधिकांश प्रअ विद्यालयमा भेटिंदैनन् । पार्टीको छलफल, नेताको चाकडी, विवाह, भोज, विभिन्न एनजीओको गोष्ठी लगायतमा बढी उपस्थित हुन्छन् ।
८.सामुदायिक विद्यालयका प्रअ अधिकारविहीन छन् । उनीहरुले चाहेर पनि केही गर्न सक्दैनन् । अटेर गर्ने र गैर–जिम्मेवार शिक्षकको त कुरै छोडौं, कार्यालय सहयोगीलाई समेत आवश्यक पर्दा कारवाही गर्न सक्दैनन् ।
९. सामुदायिक विद्यालयका प्रअसंग निर्णय अधिकार हुँदैन । सानो भन्दा सानो कुराको निर्णय गर्न पनि व्यवस्थापन समितिको निर्णय कुर्नुपर्छ । कहिलेकाहीँ अति आवश्यक कुराको पनि निर्णय हुन नसकी अनावश्यक राजनितिकीकरण भएको देखिन्छ ।
१०.सामुदायिक विद्यालयमा तलब भत्ताबाहेक कुनै आर्थिक स्रोत हुँदैन । विद्यालयका लागि आवश्यक पर्ने टेलिफोन, बत्ती, इन्टरनेट, खानेपानी, स्टेसनरी सामाग्री, खेलकुद सामाग्री, फोटोकपी जस्ता सामाग्रीको जोहो गर्न सक्दैनन् ।

समाधान के हो ?
१. निश्चित सेवा अवधी तथा उमेर कटेका प्रअलाई आकर्षक सुविधासहित अनिवार्य अवकासको व्यवस्था मिलाउने,
२. प्रअलाई छुट्टै प्रशासनिक तथा व्यवस्थापकीय पद कायम गरी शैक्षिक तथा प्रशासनिक व्यवस्थापन अध्ययन गरेका, निश्चित तालिम लिएका तथा प्रअका लागि छुट्टै परीक्षा उत्तीर्ण गरेका व्यक्तिलाई नियुक्ति दिने, उमेर हद तथा सेवा अवधिका आधारमा प्रअका रुपमा कार्यरत शिक्षकलाई पनि उक्त परीक्षामा भिड्न अवसर दिने, अन्नुतीर्ण भए शिक्षककै दरबन्दीमा काम गर्ने, यस्तो परीक्षामा शिक्षकले पनि आवेदन दिन पाउने व्यवस्था गर्ने ।
३. यसरी सिर्जना गरिएको पद करारको रुपमा राख्ने । प्रअलाई विद्यालय सुधारको सम्पूर्ण अधिकार दिने, प्रअले सिफारिस गरेको आधारमा शिक्षक कर्मचारी पुरष्कृत तथा दण्डित दुवै हुनसक्ने अधिकार दिने । हरेक प्रअलाई ५ वर्षको समय दिने, उक्त समयभित्र विद्यालय सुधार गरे प्रोत्साहनको व्यवस्था गर्ने र सुधार गर्न नसके स्पष्टिकरण माग्ने तथा पद खारेजसम्म गर्न सक्ने अवस्था निर्माण गर्ने ।
४. हरेक ५ वर्षपछि प्रअ सरुवा हुने व्यवस्था मिलाउने, आवास तथा सवारी साधनसहित आकर्षक तलबसुविधाको व्यवस्था गर्ने ।
५. प्रअको कुनै राजनीतिक आवद्धता देखिए पद खारेज हुने व्यवस्था मिलाउने, निरन्तर तालिम तथा अवलोकन भ्रमणको आयोजना गर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने प्रअलाई निजामति तहको सर्वोच्च पदमा समेत पुग्न सक्ने गरी कानूनी व्यवस्था मिलाउने !

यस कारण स्थानीय तहले सामुदायिक विद्यालय सुधार गर्न सक्दैनन् !
१. स्थानीय तहले अहिलेकै संरचना र प्रणालीमा सामुदायिक विद्यालय सुधार गर्न सक्दैनन् । गर्नेहरुले पनि गरे जस्तो गरेका छन् । जसरी पनि रुपान्तरण गर्छु भन्नेहरुलाई अर्को चुनावको चिन्ता छ ।
२. सामुदायिक विद्यालय वर्षौंदेखि जकडिएका छन् । शिक्षक अराजक छन् । घरपायक जागिर भएका कारण शिक्षक जरो गाढेर बसेका छन् । स्थानीय राजनीतिमा उनीहरुको हालीमुहाली हुन्छ । चुनावमा तिनै शिक्षक कतिपय उम्मेदवारको भाग्यविधाता बन्छन् । कतिपय स्थानीय तहका जनप्रतिनिधिलाई तिनै शिक्षकले पढाएका छन् । कतिपय जनप्रतिनिधि स्थानीय ठेक्कापट्टालगायतबाट आएका छन् । शिक्षकलाई उनीहरुको विगत सबै थाहा भएकोले पनि टेर्दैनन् ।

३. विद्यालय सुधार गर्न तिनै शिक्षकलाई जिम्मेवार बनाउनु पर्दछ । जिम्मेवार बन्नु भनेको कामको बोझ बढ्नु हो । जनप्रतिनिधिले आफ्ना भाग्यविधाता र भरपर्दो कार्यकर्तालाई चिढ्याउन चाहंदैनन् । कतिपय जनप्रतिनिधिले आफैं निजी स्कुलमा लगानी गरेका छन् । सामुदायिक स्कुल सुधार गर्दा आफ्नै खुट्टामा बन्चरो हानेझैं हुने भएकोले उनीहरु सामुदायिक विद्यालय सुधार गर्न त्यति धेरै इच्छुक देखिंदैनन् ।
४. शिक्षकलाई सबैले विस्वास गर्दछन् । शिक्षक जस्तो विस्वासिलो व्यक्तिलाई कार्यकर्ता बनाउनु नेता र जनप्रतिनिधिका लागि अवसर हो । शिक्षकले आफ्नो तर्फबाट झोला बोकेर भोट माग्न हिंडेपछि जीत पक्का भन्ने कतिपय जनप्रतिनिधिको बुझाइ हुन्छ ।
५. जनप्रतिनिधिले क्रान्तिकारी कदम चालेर शिक्षकलाई बिच्क्याउनु भन्दा सामुदायिक विद्यालय मेरो पहिलो प्राथमिकता भनेर भाषण गर्ने, तलब भत्ता सबै स्कुललाई दिएको छु भनेर सतही पब्लिक सेन्टिमेन्ट खिच्न खोज्ने, ब्रतबन्ध, विवाह, मलामी भने पछि सबै छोडेर दौडिने, खुब खटेको छु भनेर देखाउन साना र अरुलाई जिम्मेवारी दिन सकिने काम पनि आफैं गरेर समाचारमा छाउने जस्ता पपुलिस्ट काम गर्दा फाइदा देख्ने गर्दछन् ।
६. केन्द्रीय सरकारले शिक्षाका नाममा शिक्षक कर्मचारीको तलब भत्ता लगायत ससर्त अनुदानमा केही रकम पठाए पनि त्यो पर्याप्त हुँदैन । स्थानीय सरकारले शिक्षाका लागि भनेर छुट्ट्याएको रकम वितरणमुखी मात्र हो ।
७. स्थानीय तहले शिक्षालाई उपेक्षा गरेका छन् । भौतिक पूर्वाधारबाहेक उनीहरुले मानवीय चेतनाको विकास, मानव स्रोत तथा शंसाधनको विकासलाई विकास नै मान्दैनन् । स्कुलमा लगानी गरेको प्रतिफल तत्काल नदेखिने भएकाले बाटोमा ग्रभिल गर्न वा डोजर लगाएर जथाभावी पहाड भत्काउन नै उचित ठान्दछन् ।
८. हरेक स्थानीय तहमा शिक्षा शाखा छ । शाखा अधिकृतदेखि उपसचिव तहका व्यक्ति शिक्षा शाखा प्रमुख छन् । उनीहरुको सरुवा भइरहन्छ । तर, बर्षौंदेखि घरपायक जागिर खाएका शिक्षकले शिक्षा शाखाका कर्मचारीलाई टेर्दैनन् । किनकि, उनीहरू लोकल हुन् । कतिपय प्रअ शिक्षा शाखाका हाकिमभन्दा उपल्लो तहका छन् । शिक्षा शाखाका अधिकांश कर्मचारीलाई जागिर मात्र खानुछ । कर्मकाण्डी कामको घेराभन्दा माथि उठेर सोच्न तथा जोखिम मोल्न खोज्दैनन् ।
९. स्थानीय तह संघीय मामिला मन्त्रालय अन्तर्गत पर्दछन् । स्थानीय तहले शिक्षा मन्त्रीलाई टेर्दैनन् । अथवा, शिक्षा मन्त्रालयले प्रत्यक्ष रुपमा स्थानीय तहसंग समन्वय गर्ने स्थिति सहज छैन । संघीय संरचनाअन्तर्गत जिल्लामा रहेको शिक्षा समन्वय इकाई आफैं समन्वयविहीन बनेको छ ।
१०. स्थानीय तहलाई संविधानले दिएको अधिकार संघीय सरकारले खोसेपछि समन्वयको अभाव देखिएको छ । शिक्षकको पदपूर्ति, कारवाही लगायतको अधिकार स्थानीय तहलाई नभएपछि स्थानीय तहले चाहेर पनि केही गर्न सक्दैनन् । संघीय शिक्षा नीति नबनेको अवस्थामा प्रादेशिक तथा स्थानीय शिक्षा नियमावली बन्न सकेको छैन । केही गर्छु भनेर लाग्ने जनप्रतिनिधिलाई पनि कानूनले रोकेको अवस्था छ ।

यस कारण राजनीतिक दलले सार्वजनिक शिक्षालय बिगारेका छन् ।
१. राजनीतिक दलले शिक्षकलाई आफ्नो दलको कार्यकर्ता बनाएका छन् । विभिन्न दलले शिक्षकका संगठनलाई आफ्नो दलको भातृसँनगठन बनाएका छन् । शिक्षकलाई दलको झण्डा र झोला बोकाएर हिडाएका छन् ।
२. दलहरुले सामुदायिक विद्यालयलाई राजनीतिक परेड खेल्ने अखडा बनाएका छन् । विद्यालयमा आफ्नो पकड र प्रभाव राख्न सके निर्वाचनमा फाइदा लिन सकिन्थ्यो भन्ने विस्वासले अनावश्यक रुपमा विद्यालयमा हस्तक्षेप बढाएका छन् ।
३. जीर्ण अवस्थामा पुगेका अधिकांश सामुदायिक विद्यालयका शिक्षक कुनै न कुनै दलको सदस्य÷कार्यकर्ता छन् । विराटनगरकै उदाहरण हेर्ने हो भने एउटै विद्यालयबाट तीन जना शिक्षक÷कर्मचारी यस पटकको नेपाली कांग्रेशको क्षेत्रीय प्रतिनिधिको उम्मेदवार उठेको पाइयो । शिक्षकका रुपमा कार्यरत व्यक्तिले कुनै पनि राजनीतिक दलको सक्रीय सदस्यता लिएको पाइए शिक्षा पदबाट स्वतः निष्काशित हुन्छ । तर, राजनीतिक दलले त्यस्ता शिक्षकलाई संरक्षण गरेका छन् । दलको संरक्षणका कारण त्यस्ता शिक्षक गैर जिम्मेवार भएका छन् । विद्यालय बिगारेका छन् ।

४. कनिष्ठ र असक्षम व्यक्ति पनि राजनीतिक आस्था र संलग्नताको आडमा विद्यालयको प्रधानाध्यापक बनाइएका छन् । आफ्नो राजनीतिक दलको सदस्यता नलिए त्यही विद्यालयको सक्षम शिक्षकले अवसर नपाउने गरेको अवस्था सिर्जना भएको छ ।
५. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन पाए वडा अध्यक्ष वा राजनीतिक लाभको कुनै पदमा निर्वाचित वा नियुक्त हुन पाइने लोभले विद्यालयमा अनावश्यक हस्तक्षेप हुने गरेको छ । स्वार्थ र गलत नियत लिएर विद्यालय व्यवस्थापन समितिमा प्रवेश गरेकाहरुले विद्यालयको अवस्था नाजुक बनाएका छन् ।
६. शिक्षकको सरुवामा राजनीतिक दलका नेताको ठुलो चासो हुने गरेको छ । पहाडी क्षेत्रबाट मोरंग, झापा, सुनसरी लगायतका सुगम जिल्लामा सरुवा हुँदा ठुलो रकमको चलखेल हुने गरेको छ । विराटनगर महानगरपालिकाभित्र सरुवा हुँदा मात्र १० लाख रुपैयाँ घुस खुवाउनु परेको तथ्य बाहिर निस्किएको छ । यो रकम शिक्षाका हाकिम देखि जिल्लाका प्रभावशाली नेताको गोजीमा पनि पुग्ने गरेको छ । निरीह शिक्षकको बाध्यताको फाइदा उठाउँदै जवर्जस्ती पैसा असुली र दलको झण्डा बोक्न बाध्य पारिएको छ ।
७. विभिन्न राजनीतिक दलले विद्यालयका कक्षाकोठा र प्राङ्गणलाई राजनीति कार्यक्रम, सभा सम्मेलन गर्ने थलो बनाएका छन् । विद्यालयलाई राजनीतिक हस्तक्षेप र वातावरणबाट टाढा राख्ने कुरामा प्राय सबै दल चुकेका छन् ।
८. विद्यालय शान्ति क्षेत्र भनेर नेपालका प्राय सबै राजनीतिक दलले हस्ताक्षर गरेका छन् । विद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्ने भनेर घोषणापत्रमा हस्ताक्षर गरेता पनि व्यवहारमा त्यसो हुन सकेको छैन । राजनीतिक मुद्धा सहित गरिएका आन्दोलनमा विद्यालयलाई जवर्जस्ती बन्द गर्न दबाब दिने, भौतिक आक्रमणको धम्की दिएर विद्यार्थी र अभिभावकमा सन्त्रास छर्ने जस्ता गतिविधि भूमिगत संघर्षबाट शान्ति प्रक्रियामा आइसके पछि हुने गरेका छन् ।
९. विश्व विद्यालय विशुद्ध प्राज्ञिक क्षेत्र हुन् । विश्व विद्यालयमा हुने हरेक प्राज्ञिक पदमा राजनीतिक हस्तक्षेप र नियुक्ति हुने गरेका छन् । दलले आफ्नो कोटा कायम गरेर दवाव सिर्जना गर्दा विश्वविद्यालय जीर्ण र कमजोर बन्दै गएका छन् ।
१०. शिक्षकलाई प्रभावमा पार्न सके अभिभावक मार्फत गाउँ गाउँ सम्म पुग्न सकिने, हरेक परिवारमा पुगेर राजनीतिक प्रभाव कायम गर्न सकिने लोभमा शिक्षकलाई राजनीतिक दलको सदस्य बनाउने होडबाजीमा दलहरु लागेका छन् । समाजमा दलका कार्यकर्ता र नेतालाई भन्दा शिक्षकलाई विस्वास गर्ने हुँदा दलले शिक्षकलाई प्रयोग गर्ने गरेका छन् । तुलनात्मक रुपमा शिक्षक बढी पढेलेखेको व्यक्ति, इमान्दार हुने भएकोले दलहरुले विभिन्न प्रलोभनमा शिक्षकको दुरुपयोग गर्ने गरेका छन् ।

सामुदायिक विद्यालय के हुन् ? सामुदायिक विद्यालय कस्तो हुनु पर्दछ ?
१. सामुदायिक विद्यालय; सामुदायिक विकासको केन्द्र
२. सामुदायिक विद्यालय; चेतना र ज्ञानको केन्द्र
३. सामुदायिक विद्यालय; सामुदायिक उत्थानको केन्द्र
४. सामुदायिक विद्यालय; सामाजिक न्याय र सामुदायिक सद्भावको केन्द्र
५. सामुदायिक विद्यालय; अध्ययन तथा अनुसन्धान केन्द्र
६. सामुदायिक विद्यालय; आविष्कार तथा नवप्रवर्तन केन्द्र
७. सामुदायिक विद्यालय; संस्कार र चरित्र निर्माणको केन्द्र
८. सामुदायिक विद्यालय; सामाजिक –सांस्कृतिक विकासको केन्द्र
९. सामुदायिक विद्यालय; समावेशिता र समतामुलक समाजको केन्द्र
१०. सामुदायिक विद्यालय; सम्वृद्धि र समाजवादको केन्द्र

सामुदायिक विद्यालयको सुधार तथा विकासमा राजनीतिक दल तथा स्थानीय समुदायले गर्न सक्ने पहलः
१. अभिभावक सचेतना कार्यक्रम
२. साक्षरता विकास कार्यक्रम
३. विद्यालयमा उत्पादन तथा उद्यमशीलता कार्यक्रममा सहजीकरण
४. विद्यालयका विविध कार्यक्रममा स्रोत व्यवस्थापन
५. सामाजिक जागरण तथा रुपान्तरण
६. अभिभावकको क्षमता विकास,
७. अभिभावकको सीप, उद्ध्यमशीलता तथा आर्थिक हैसियतको विकास

सामुदायिक विद्यालयको सुधार र विकासमा राजनीतिक दलले निर्माण गर्नु पर्ने धारणाः
१. भौतिक विकासलाई मात्र विकास नमान्ने; शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो भन्ने मानसिकताको विकास गर्ने,
२. शिक्षक सामाजिक रुपान्तरणका अगुवा हुन् । नाइके हुन् । शिक्षकलाई अपमान गर्ने समाजमा कहिले पनि शिक्षाको सुधार हुन सक्दैन । राजनीतिक दलले शिक्षकलाई कार्यकर्ताको रुपमा होइन, अगुवा तथा सल्लाहारको रुपमा सम्मान गर्नु पर्ने, शिक्षकले पनि आफूलाई सोही रुपमा विकास गर्नु पर्ने,
३. भोलिको देशको भविष्य कस्तो बनाउने भन्ने कुरा आजका कक्षाकोठामा भएका विद्यार्थीको गुणस्तरमा भर पर्दछ. कुनै पनि देश विकासको प्रमुख आधार तथा सम्पत्ति भनेको नै त्यस देशको जनशक्ति हो । गुणस्तरहीन जनशक्तिले राष्ट्र निर्माण गर्न सक्दैन । यसर्थ, सबैभन्दा पहिले शिक्षा सुधार नगरी राष्ट्र विकासको सपना पुरा हुन सक्दैन !

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर