Aamsanchar

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा विवाद हुँदा युवतीको हत्या

Author Image
सोमवार, असोज ११, २०७८

दैलेख – गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवतीकाे शवकाे पहिचान खुलेकाे छ ।  शव फेला परेकी युवती नारायण नगरपालिका-१० भवानीकी २२ वर्षीया अस्मिता बोगटी भएको प्रहरीले जनाएकाे छ । 

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने क्रममा विवाद हुँदा उनकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे हाे । उनको हत्या आराेपमा गुराँस गाउँपालिका-५ गोगनपानीका २१ वर्षीय गणेश विकलाई पक्राउ गरिएकाे छ ।  गणेशले गएको भदौ १४ गते राति १० बजेतिर अस्मिताको हत्या गरी भैरीखोलामा फालेको भन्ने आरोपमा प्रहरीले असोज १ गते उनलाई पक्राउ गरेको थियो । आरोपितको संलग्नताको प्रमाण जुटाएर गणेशविरुद्ध पीडित परिवारबाट हत्या कसुरमा जाहेरी लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) इन्द्रजित सुनारले जानकारी दिनुभयो ।  अस्मिता पाँच वर्षदेखि काठमाण्डौमा घरायसी कामदारका रूपमा काम गर्दै आएकी थिइन् । प्रहरीसमक्ष गणेशले अस्मितालाई आफू विवाहित रहेकाे र आफ्नाे एक छाेरी समेत भएकाे बताएपछि विवाद भएकाे र अस्मिता खाेलामा हाम फालेकाे बयान दिँदै आएका थिए । 

अस्मिताकाे शव घटनाकाे भाेलिपल्ट भदाै १५ गते बिहान बिउराखेत नजिक भैरीखाेलामा भेटिएकाे थियाे । त्यसबेला पहिचान नखुलेको कारण भदौ १९ गते पोष्टमार्टम गरी नारायण नगरपालिका–८ झुप्रेसाल जङ्गलमा प्रहरीले शव खाडल खनी गाडेको थियो । 

अस्मिताले काम गर्दै आएकाे घरबाट भदाै २८ गते दैलेखमा फाेन गरेर साेधेपछि उनकाे खाेजी सुरु भएकाे थियाे । काठमाण्डाैबाट दैलेख हिँडेकी अस्मिता घर नपुगेकाे थाहा पाएपछि प्रहरीले तर्ताङ्मा गाडेकाे शवकाे फाेटाेसँग दाज्दा उनकाे पहिचान खुलेकाे हाे । 

अस्मिताकाे माेबाइलकाे नम्बरमार्फत कल डिटेल जाँच गर्दा गरिएकाे कल डिटेल्सकाे आधारमा गणेश विकले हत्या गरेकाे खुल्न आएकाे हाे।  प्रहरीले भदाै १४ गते अस्मिता र गणेशबीच १२ पटक कल भएकाे डिटेल्स निकालेकाे थियाे ।घटना भएकै दिन गणेशले आफ्नो सिम भाँचे पनि प्रहरीले दुई दिनमा उनको घरमा पुगेर पक्राउ गरी अनुसन्धान थालेको थियाे ।

भदौ १४ गते पनि बिहान सुर्खेतबाट बस चढेर माथिल्लो डुङ्गेश्वर बजारमा झरेर गणेशलाई भेटी विवाह गर्ने सल्लाहमै उसको घर जान हिँडेको बेला हत्या भएकाे खुलेको हाे । अस्मिताकाे गएकाे भदाै २९ गते दाहसंस्कार गरिएकाे थियाे ।

अस्मिताकी आमा शान्ता बाेगटीले गएकाे बुधवार गणेश विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिनु भएकाे छ ।  प्रहरीले सूचना प्रविधि र सामाजिक परीक्षणबाट हत्या भएको एकीन गरेर अनुसन्धान केन्द्रित गरेको जिल्ला प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले बताउनुभयो 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर