Aamsanchar

कोभिडले सुस्ताएको पर्यटन चलायमान बनाउन जोड

Author Image
मङ्गलवार, असोज १२, २०७८

काँकरभिट्टा। झापाको मेचीनगरमा सोमबार ४२ औँ विश्व पर्यटन दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । प्रत्येक वर्ष सेप्टेम्बर महिनाको २७ तारिखका दिनमा स्वदेशमा होस या विदेशमा विभिन्न तामझामका साथ विश्व विश्व पर्यटन दिवस मनाइने गरिएको छ । ‘टुरिजम फर इनक्लुसीभ ग्रोथ’ ‘समावेशी विकासका लागि पर्यटन उत्थान’ भन्ने मुल नारासहित ४२ औँ विश्व पर्यटन दिवस मनाएको हो । कार्यक्रममा पर्यटनसँग जोडिएका विषयमा अन्तरक्रियात्मक छलफल र शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो ।

सोहि अवसरमा पर्यटन कार्यालय काँकरभिट्टाले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले कोभिड १९ का कारण सुस्ताएको पर्यटन व्यवसायलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए । नेपाल पर्यटन वोडका सदस्य कृष्ण साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अधिकाँश पर्यटन व्यवसायी सहभागि कार्यक्रममा कोभिडका कारण अहिले नेपालको पर्यटनक्षेत्र र त्यसमा लाखौं रुपैयाँ लगानी गरेर व्यवसाय सञ्चालन गदैं आएका व्यवसायीहरुको अवस्था निक्कै नाजुक रहेकाले सरकार र टुरिजम बोर्ड, नाटा र पर्यटन सम्बन्धी अन्य निकाय पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सक्रिय रहेको साहाको भनाई थियो ।

कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने भन्दैं उहाँले पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

उहाँले कोभिडका कारण ओरालो लागेको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन त्यससँग जोडिएका संघ संस्थाहरु एकसाथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाटा प्रदेश नम्बर १ का अध्यक्ष उदयकुमार श्रेष्ठले पर्यटन दिवसका नारा हरेक वर्ष अलग अलग भए पनि नाराले सार्थकता प्राप्त गर्न नसकेको टिप्पणी गर्नुभयो । ‘४० औं विश्व पर्यटन दिवस, मनाउदै गर्दा ‘सबैको उज्ज्वल भविष्यका लागि, पर्यटन र रोजगारी’ नारा तय गरियो, ‘४१ औं विश्व पर्यटन दिवसको नारा ‘दिगो विकासका निम्ति ग्रामीण पर्यटन’ भन्ने मूल नारा थियो , आज हामी ४२ औं विश्व पर्यटन दिवस मनाउदैं गर्दा ‘टुरिजम फर इनक्लुसीभ ग्रोथ’ समावेशी विकासका लागि पर्यटन उत्थान नारा तय गरिएको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो —‘ हरेक वर्ष तय गरिएका नारा नारामै सिमित छन यी नाराले सार्थक रुप पनि प्राप्त गर्न सक्नुपर्छ । ’

कोभिड १९ का कारण यो देशका पर्यटन व्यवसायीहरुले अत्यन्तै धेरै समस्या भोग्नु परेको भन्दैं अध्यक्ष श्रेष्ठले कोभिड १९ कै कारण पर्यटन व्यवसायबाट कोहि व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेको दुःखेसो गर्नुभयो । पर्यटन संसारमा सबै भन्दा ठुलो उद्योग भएको भनदैं उहाँले यो उद्योगलाई अब पुरानै लयमा फर्काउन नविनतम योजना ल्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले पर्यटन प्रवर्द्धन गर्नु राज्य र सरोकारवालाहरू द्वारा गर्नु पर्ने महत्वपूर्ण कामहरू मध्ये एक हो भन्दैं यसप्रति यहाँका सवैपक्ष गम्भीर भएर लाग्नु पर्ने विचार राखेका थिए । जनस्तरबाट नेपालको जति प्रचार भएको छ, त्यति राज्यले गर्न नसकेको गुनासो सहभागीहरुको थियो । पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै अबको पर्यटन ग्रामीण पर्यटन माथि केन्द्रीत हुनुपर्ने र ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने सहभागीहरुको भनाई थियो ।

पर्यटन कार्यालयका निमित्त प्रमुख प्रभात भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, मेची उद्योग बाणिज्य संघ मेचीनगरका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की ‘नेत्र’, ग्रामीण पर्यटन अभियन्ता अर्जुनकुमार कार्की, क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यालयका सूचा अधिकारी निरोज कट्टेल सञ्चालन गरेको कार्यक्रममा सहभागी सवैलाई पर्यटन कार्यालयका निमित्त प्रमुख प्रभात भट्टराईले शब्दद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा पर्यटन प्रहरी नायव निरीक्षक गीताकुमारी बस्नेतलगायत विभिन्न सरकारी तथा गैरसरकारी र उद्योगी, व्यवसायी, नागरिक समाज, अधिकारकर्मी सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 294

प्रतिक्रिया (०)

सम्बन्धित खबर