बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कदै गरेका बुवाले हातमा बोकेको प्लाष्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही कुरा भने लगिदिएका हुन्छन् ।
संसारमा आमा बुवाले सबैभन्दा खुशी आफ्ना सन्तानमा देख्न चाहन्छन् । रुँदा आँशु पुच्दै अनि हाँस्दा अझै हसाउँदै । आफ्नो गक्षले भ्याएसम्मको जीवन अनि शिक्षा–दीक्षा दिएर हामी सबैलाई हाम्रा आमाबुवाले हुर्काएका हुन् । आमाबुवा अनि अभिभावक जे भने पनि हामी तिनीहरूकै सपनाको एउटा पुञ्ज हौँ । समय क्रमसँगै बुवाको पाखुराको बल कम हुन्छ । आमाको शरीर कमजोर हुँदै जान्छ, अनि जीवनको चक्र, बुढेसकाल शुरु हुन्छ ।
ज्येष्ठ नागरिक अर्थात् पाका उमेरका बृद्धबृद्धाहरू, प्रायः देशहरूमा ६० वर्ष पूरा भएका नागरिकलाई राज्यले ज्येष्ठ नागरिकको श्रेणीमा राखेको हुन्छ । उमेर ढल्कँदै गएपछि अरुहरूप्रति निर्भरता बढ्छ नै । जीवनशैलीको कष्ट अनि माया ममताको चाहलाई झर्को फर्को गर्दै नेपालमा बुवाआमालाई बृद्धाश्रममा पठाउने अनि हेला गर्ने चलन पनि देखिएकै छ । स्मरणरहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै आउने पुस्ताले हामीलाई दिने माया र सद्भाव निर्धारण गर्छ ।
उमेर ढल्कदै गएपछि एक्लोपना बढ्दै जान्छ । आफ्ना मन मिल्ने साथीभाईको कमी अनि पुराना यादको बहावले बहकाउने गर्छ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।
समाजको खुल्ला डवली अनि पलेँटीहरूमा ज्येष्ठ नागरिकहरूलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरू प्रदान गरौं । यहाँ पालोको पैँचो सबैले तिरेका छन् । हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौं । त्यसो हुँदा ज्येष्ठ नागरिक मैत्रि समाज निर्माण गरौं ।
हाम्रो परिवारका ज्येष्ठ नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाउनु भयो होला त रु अनि कोभिडपछिको बढेको डिजिटल संरचनामा हाम्रा ज्येष्ठ सदस्यहरूको पहुँच कतिको छ त रु यसै कुरालाई आधार मान्दै यस वर्ष सन् २०२१ को ज्येष्ठ नागरिक दिवसको नारा नै ‘Digital Equity for all ages’ राखिएको छ ।
यसै कुरालाई आत्मसात् गर्दै विश्व समुदायले पनि हरेक वर्षको अक्टोबर १ तारिखमा विश्व ज्येष्ठ नागरिक दिवस मनाउने गर्दछ ।